७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

समृद्धिको महल बनाउन सरकारको ध्यान केन्द्रितः उपप्रधानमन्त्री पोखरेल


५ जेठ, ओखलढुङ्गा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्धिको जग बसाइसकेको बताउनुभएको छ । ओखलढुङ्गाको रुम्जाटारमा नवनिर्मित बौद्ध गुम्बाको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाको सरकार गठनपछिको एक वर्ष सङ्घीयता कार्यान्वयन र आवश्यक कानून निर्माण गरेर जग बसाउने काम गरेको बताउनुभयो ।

“सरकारले अहिलेसम्ममा समृद्धिको जग बसाउने काम गरेको छ । अब समृद्धिको महल बनाउन सरकारको ध्यान केन्द्रित हुनेछ”, उहाँले भन्नुभयो, “हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा जनतालाई ढाँट्न लगाएको होइन, जनतालाई सुखी र देशलाई धनी बनाउने अभियानमा जुट्न र सबै नेपालीलाई सम्पन्न बनाउन भनिएको हो ।” मन्त्री पोखरेलले जनतासँग गरेका वाचा पूरा गर्न सरकार तयार रहेको बताउनुभयो । निर्वाचनमा गरेका वाचाअनुसार अघि बढ्न र शिर झुकाएर जनतासँग परीक्षा दिन सरकार तयार रहेको उहाँको भनाइ छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई १ नम्बर बनाउन आफूहरु लागिपरेको बताउनुभयो । प्रदेशवासी नागरिकलाई घरघरमा सरकारको सेवा महसुस गराउन प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो । केन्द्र प्रदेश र स्थानीय सरकारको साझा लक्ष्य समृद्ध नेपालको रहेकाले यस अभियानमा जुट्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सङ्घीय सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङ लगायतले सम्बोधन गर्नुभएको थियो । प्रदेश नं १ कै नमूनाका रुपमा निर्माण गरिएको रुम्जाटार गुम्बाको आज भव्य समारोहकाबीच उद्घाटन गरिएको छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०७:३५