१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

धापाखेलको आरके कार्पेट उद्योगमा आगलागी हुँदा २ करोडकाे क्षति


२ जेठ, काठमाडाैँ । धापाखेलको आरके कार्पेट एण्ड ह्यान्डीक्रयाफ्ट उद्योगमा बुधबार साँझ आगलागी हुँदा २ करोड बढीको क्षति भएको छ । सो उद्योगमा कार्यरत कामदारले एलपी ग्यास बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

उद्योगमा आगलागी हुँदा बुनेर भण्डारण गरिसकेको रु १ करोडको कार्पेट, उद्योगको तानमा लगाइरहेको रु ५० लाखको धागोसहित रु ५० लाख बढीको भौतिक संरचना जलेर नष्ट भएको सो उद्योगका सञ्चालक ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।

“एक रोपनी क्षेत्रफलमा रहेको कार्पेट उद्योग पूरै जलेर नष्ट हुँदा त्यहाँभित्रका सबै सामग्री जलेर नष्ट भएका छन्”, घिमिरेले भन्नुभयो, “उद्योगभित्र बस्ने ११ परिवारको कति रकम र सामान जलेर नष्ट भए त्यसको यकिन जानकारी हुन सकेको छैन ।” सो कार्पेट निर्माणमा प्रयोग हुने सिल्क र कटनको धागो अतिनै महँगो हुने घिमिरेले बताउनुभयो ।

सो उद्योगमा कार्यरत ३६ वर्षीया कान्छी लामा आगलागीमा घाइते हुँदा उनलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार छिउँजुले जानकारी दिनुभयो ।

“लामाको हात, गोडा र पाखुरामा आगोले पोलेको छ”, छिउँजुले भन्नुभयो, “सामान्य आगलागीमा परेका अर्का एक व्यक्ति भने उपचारको क्रममा घर फर्किसकेका छन् ।” उक्त घटनाको यकिन आज दिनभरिमा बाहिर आउने बताइएको छ । आगलागी नियन्त्रणमा काठमाडौँ, ललितपुर, भक्तपुरका छ वटा दमकलका साथै खुमलटारको राजदल गणका सेनासहित महानगरीय प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी वृत चापागाउँका प्रहरीले खटिएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १९:४६