७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

समृद्धिका लागि कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका छः उप्रधानमन्त्री पोखरेल


२ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गर्नुभयो ।

प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने अपेक्षा गर्दै मन्त्री पोखरेलले भन्नुभयो, “समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।”

उहाँले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएकाे यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १५:०५