७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

महायज्ञमा ८२ लाख बराबरको दान सङ्कलन


२७ वैशाख, काठमाडाैँ । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवामा सञ्चालन भएको श्रीमद्भागवत् धान्याचल महायज्ञमा रु ८२ लाख बराबरको दान सङ्कलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा दाताले उक्त रकम बराबरको नगद तथा जिन्सी दिएका हुन् । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञमा भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो ।

महायज्ञ अवधिभर रु दुई करोडसम्म सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक गिरमान आलेले बताउनुभयो । “वडाभित्रमा सञ्चालित एक मात्र मावि तहको यस विद्यालयमा सङ्कलित रकम प्राविधिक शिक्षामा लगानी गरी गाउँमै बसेर प्राविधिक शिक्षा पढ्ने वातावरण तयार पार्न महायज्ञ सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

प्राविधिक शिक्षासँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ । दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न अन्यत्र जानुपर्ने बाध्यता छ ।

कक्षाकोठाको अभावमा हाल बाल विकासदेखि १, २ र ३ का विद्यार्थी, विज्ञान प्रयोगशाला, पुस्तकालय, खुल्लाचौरलगायत स्थानमा सञ्चालन गर्न बाध्य भएको प्रधानाध्यापक श्यामबहादुर दिशाले बताउनुभयो । महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय कथावाचन भइरहेको छ । यही वैशाख २३ गतेदेखि शुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा पठनपाठनमा असर पर्दै आएको थियो । उक्त विद्यालयमा १९ वटा कोठामध्ये हाल चार कोठे भवन निर्माणका क्रममा रहेको छ भने थप १० वटा कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ । गत शैक्षिक सत्रमा उक्त विद्यालयमा ५१० विद्यार्थी रहेका हाल ५५० विद्यार्थी भर्ना भएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार १४:२६