१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल, विजयीले पाए जिउँदै खसी


२५  वैशाख, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा मंगलबार नेपाली सेना अधिकृत आधार तालीम समूह र सैन्य आधार तालीम समूहबीच भएको फुटबलमा अधिकृत समूह ३–२ गोलले विजयी भएको छ । श्री नं १ तालीम केन्द्र त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा अफिसर क्याडेट समूह एक गोल अन्तरले विजयी भएको हो । अफिसर क्याडेटका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेको तालीम केन्द्र त्रिशूलीका गणपति खेमराज शर्माले बताउनुभयो । शर्माका अनुसार सैन्यले एक गोल आत्मघाती गोल पाएको र सन्तोष विकले एक गोल गरेका थिए ।

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्विबहादुर प्रधान र नुवाकोट फुटबल सङ्घका उपाध्यक्ष उद्वव पनेरुले सिपाहीमा तालीमरत खेलाडीबीच पहिलो पटक खुला मैदानमा आयोजना गरिएको प्रतियोगिताले नागरिक–नेपाली सेनाबीच सौहार्दपूण सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो । विजयी टोलीलाई ४०–४० केजीका दुई खसी प्रदान गरिएको श्री नं तालिम केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०१:२०