१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रधानमन्त्रीको गृहजिल्लामा चिया मजदूरले सडकमै सुतेर ज्याला माग्दा पनि पाएनन्


–सन्तोष शर्मा

२५ वैशाख, झापा । सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदूरले मंगलबार सडकमा सुतेर ज्याला माग गरेका छन् । आन्दोलनको मंगलबार ३८औँ दिन चिया मजदूरले झापाको विर्तामोडस्थित मुक्तिचोकमा १२ देखि २ बजेसम्म सडकमा सुतेर ज्याला माग गरेका हुन् । आन्दोलनको कार्यक्रमअन्तर्गत झापा र इलामका करीब तीन हजार चिया मजदूरले न्यूनतम ज्यालाको माग गर्दै सडकमा सुतेर आन्दोलन गरेको अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताउनुभयो ।

“आन्दोलनको आज ३८ दिन भइसक्यो, हाम्रो मागका बारेमा कहीँकतैबाट सुनुवाइ भएको छैन ।” माग पूरा नभएसम्म चिया मजदूरको आन्दोलन कुनै पनि हालतमा नरोकिने उहाँले बताउनुभयो । सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै गत चैत १७ देखि आन्दोलित बनेका चिया मजदूरको दैनिकी कष्टकर बन्दै गएको छ । नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताउनुभयो आन्दोलन थालेयता मजदूरको दैनिकी कष्टकर बन्दै गएको बताउनुभयो । सरकारको निर्णय कार्यान्वनका लागि एक महीनाअघिदेखि आन्दोलनरत चिया मजदूरको आन्दोलन अब सरकार केन्द्रित हुने उहाँले बताउनुभयो । “हामीले ज्यालाका लागि व्यवसायी केन्द्रित आन्दोलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब हाम्रो आन्दोलन सरकार केन्द्रित हुनेछ ।”

सरकारले नै तोकेको ज्याला पाउनका लागि चिया मजदूरले भोकभोकै कठोर आन्दोलन गरिरहेका छन् । “कि सरकारले मजदूरको आन्दोलन नाजायज छ भन्नुप¥यो, कि त आफूले गरेको निर्णय कार्यान्वयन गराउनु प¥यो”, मजदूर नेता तामाङले भन्नुभयो, “कि त सरकारको निर्णय नमान्नेलाई कारवाही हुनुप¥यो ।” झापाको राज टी स्टेट र ज्यामिरगढी टी स्टेटले सरकारले तोकेको ज्याला दिन थालेका छन् ।

त्यस्तै, साना किसानले चलाएको तीन वटा ठूलो चिया फयाक्ट्रीसहितको चिया बगान र त्यसमा आबद्ध २०० वटा साना बगानले न्यूनतम् ज्याला दिने सहमति जनाइसकेका छन् । “इलाममा चिया विकास निगमले चलाएको चार वटा बगानबाहेक बाँकी चलिरहेका छन्”, अध्यक्ष सापकोटाले भन्नुभयो, “इलामका ठूला १७ वटा, साना करीब दुई वटाले न्यूनतम ज्याला दिने सहमति जनाएका छन्, काम जारी छ ।”

झापामा मात्र फ्याक्ट्रीसहितको २७ वटा ठूला चिया बगान छन् भने ३०० वटा सानाठूला चिया बगान रहेका छन् । चिया उद्योगी तथा बगान मालिकले विभिन्न बहाना देखाएर सरकारले तोकेको ज्याला दिन नसक्ने जनाउँदै आएका छन् । झापा, इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा सञ्चालित चिया बगान र कारखानामा कार्यरत ५५ हजारभन्दा बढी चिया मजदूर काम छोडेर अधिकारप्राप्तिको आन्दोलनमा होमिएका छन् ।

सरकारले गत साउन १ देखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०८ सम्म मात्र पाउने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

छैठौँ चरणको आन्दोलनबाट समेत मागको सुनुवाइ नभएपछि आज मजदूरले सडकमै सुतेर सातौँ चरणको आन्दोलन गरेका हुन् । आन्दोलनस्वरुप वैशाख २९ गते आइतबार चिया उत्पादक सङ्घको कार्यालयमा दुई घण्टा धर्ना दिने र जेठ १ गते चिया विकास निगमको विर्तामोडस्थित क्षेत्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको मजदूर नेता साइमान राईले जानकारी दिनुभयो । मजदुरले यसरी अान्दोलन गरेर श्रमको ज्याला माग्दा समेत नपाएपछि प्रधानमन्त्रीकै गृहजिल्लामा सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो बढेको छ ।  रासस

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ००:१६