१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

मेयर कप फुटबलकाे फाइनलमा विदुर र पोखरा भिड्ने


२२ वैशाख, नुवाकाेट । विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा पोखरा महानगरपालिका विजयी भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा बूढानीलकण्ठ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै पोखरा फाइनलमा प्रवेश गरेको हो ।

आज सम्पन्न खेलमा कास्कीको पोखरालाई जीत दिलाउन जर्सी नम्बर ७ का सुशील लामाले खेलको दोस्रो हाफको ४ आँै मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । निकै सुस्त शुरुआत गरेका दुवै टोलीले पाएका मौकाको सदुपयोग नगर्दा खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुुङ्गिएको थियो ।

दोस्रो हाफमा केही राम्रो खेल पस्किएका दुवै टोलीले पाएका अवसर खेर फाल्दा खेल पोखरा शून्यको विरुद्ध एक गोलले जित्न सफल भएको हो । खेलको म्यान अफ दी म्याच पोखराका लागि गोल गरेका सुनिल लामा घोषित भए । उनले रु पाँच हजार र पदक प्राप्त गरे । फाइनल प्रवेश गरेको पोखराले उपाधिका लागि घरेलु टोली नुवाकोटसँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

नुवाकोटको विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भएको प्रतियोगितामा आठ नगरपालिकाले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु तीन लाख, पदक, प्रमाणपत्र र उपविजेताले रु एक लाख ५० हजार, पदक र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई रु १५ हजार, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई रु १०– १० हजार प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार २०:२१