१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अन्तर्राष्ट्रिय ब्याडमिन्टनः फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा


१३ वैशाख, काठमाडौँ । नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय प्रतियोगिता’को ब्वाइज यु–१७ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले प्रिक्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २–० को सोझो सेटमा पराजित गरेका हुन् ।

प्रिन्सले पहिलो सेटमा मिचेललाई २१–१९ अङ्कले तथा दोस्रो सेटमा २३–२१ अङ्कले पराजित गरी अन्तिम आठमा स्थान बनाए । अब प्रिन्सले शनिबार क्वाटरफाइनलमा थाइल्याण्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्ससँगै भारतका तीन, थाइल्याण्डका दुई, मलेसिया र कोरियाका एक–एक खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्सले यसअघि पहिलो चरणमा जापानका खेलाडीलाई २१–९ र २१–६ अङ्कले पराजित गरेका थिए । उनले दोस्रो चरणमा थाइल्याण्डका खेलाडीलाई २१–७ र २१–८ अङ्कले, तेस्रो चरणमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१ र २१–११ अङ्कले तथा चौथो चरणको खेलमा थाइल्याण्डका खेलाडीलाई २१–१० र २१–१३ अङ्कले पराजित गरेको बैंककमा रहनुभएका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो ।

प्रिन्सले यसअघि गत वर्ष असोजमा युनाइटेड अरब इमिरेट्सको दुवईमा सम्पन्न ‘दुवई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यु–१५ को उपाधि जितेका थिए । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो । उनले इन्डोनेशियाका खेलाडी क्रिस्टियन अगस्टिनलाई २१–११ र २१–११ अङ्कले पराजित गरेका थिए । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इन्डोनेशिया, स्वीडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए । प्रिन्सले हालै प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कास्य पदक जितेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार २३:४०