११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेकपाका सांसदहरू योजना संकलन अभियान लिएर जनताको दैलोमा


८ वैशाख, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ का जनप्रतिनिधि ‘जनतासँग जनप्रतिनिधिको साक्षात्कार कार्यक्रम सहित ‘योजना संकलन अभियान’ मा जुटेका छन् । अमूल्य मत दिएर विजयी गरापछि जनप्रतिनिधि अर्को निर्वाचनमा मात्र जनताको घर–घर दैलोमा पुग्ने परम्पराको अन्त्य गर्दै काठमाडौँ क्षेत्र नम्बर ९ का जनप्रतिनिधि अहिले यस्तो अभियानसहित जनताको घरदैलोमा पुगेका हुन् ।

‘हामी दिनहुँ जनतासँगै हुन्छौँ । तर, व्यवस्थित योजना नभएकाले जनता र जनप्रतिनिधि दुबै अलमलमा परेका छौँ,’ काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, ‘जनतासँग छलफल गरेर विकासका योजना बनाउँन हामी जनताको घर–दैलोमा जनता, जनप्रतिनिधि र विकास भन्ने नारासहित जनतासँग जनप्रतिनिधिको साक्षात्कार गर्ने र योजना संकलन गर्ने अभियानमा जुटेका छौँ ।’

उहाँले तीनै तहका सरकारले गर्ने काम एक–आपसमा नबाझिउन र तीन ओटै सरकारले गर्ने कामको प्रभावकारिता देखियो भनेर यस्तो अभियान सञ्चालन गरेको पनि जानकारी दिनुभयो । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने विकास निर्माणका काममा समन्वय आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यो अभियानले जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने र जनताको इच्छा–आकाक्षांलाई बुझ्ने अवसर समेत प्राप्त गर्नेछ । हामी जनताको मुखबाट उहाँहरुले जनप्रतिनिधिसँग के चाहनुहुन्छ प्रत्यक्ष सुन्न चाहन्छौँ ।’

प्रदेश नम्बर ९ कै प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले पनि यो अभियान सुरुवात मात्र भएको भन्दै यसले सिंहदरबारको अधिकार जनताको घर–घरसम्म भन्ने नारालाई सार्थक बनाउन सहयोग पुग्ने बताउनुभयो । ‘तीनै तहका जनप्रतिनिधि घर–घरमा पुगेपछि उहाँहरुको मागको सिधै सुनुवाई हुने रहेछ । आफ्नो क्षेत्रको विकासको अनुभव पनि साट्ने अवसर प्राप्त हुने रहेछ,’ शाक्यले भन्नुभयो, ‘व्यवस्थित योजना नहुँदा स्थानीय तहको योजना प्रदेशलाई र प्रदेशको योजना संघलाई थाहा नहुने र योजना पनि एक आपसमा बाँझिने समस्या थियो अब यो अभियानसँगै त्यसमा पनि कमी आउने अपेक्षा गरेका छौँ ।’

उहाँले यो अभियानसँगै योजना बैङ्क बनाएर अघि बढ्ने पनि जानकारी दिनुभयो । ‘योजना बैङ्क बनाएपछि योजनाको प्राथमिकता हेरेर हामी कामलाई अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘योजना बैँङ्कले योजना नबाझिने मात्र होइन स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने कामको पनि बाँटफाँट हुन्छ ।’ उहाँले यो अभियानले एकबाट अर्को वडासँग, एकबाट अर्को पालिकासँग, एक प्रदेशबाट अर्को प्रदेशसँग जोडिने कामका बारेमा मात्र नभएर साना योजना, मझौँला योजना र ठूला योजना कसले गर्ने भन्ने कुराको टुङ्गो लाग्ने पनि दाबी गर्नुभयो ।

संघीय सांसद, श्रेष्ठ र प्रदेश सांसद शाक्यसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि यो अभियानमा सक्रिय ढंगले लाग्नु भएको छ । अभियानको सुरुवात काठमाडौँ महानगरपालिकाको वडा २२ बाट सुरु गरेको मेयर शाक्यले जानकारी दिनुभयो । ‘हामीले पहिलो चरणमा वडा २२ बाट यो अभियान सञ्चालन गरेका छौँ,’ उहाँले भन्नुभयो अब यो अभियना महानगरपालिकाका सबै वडा र जिल्ला भरी नै लैजाने तयारी गरेका छौँ ।’ उहाँले जनप्रतिनिधि घर–दैलोमै आएर विकासबारेमा छलफल गर्दा जनता उत्साहित भएको पनि जानकारी दिनुभयो । ‘यो अभियानले आफ्नो ठाउँको विकासमा जनता आफैँ संलग्न हुने भएकाले संगठित र व्यवस्थि हुने अपेक्षा गरेका छौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘योजना बैङक बनाएर काम गर्ने कार्यको थालनी गरेका छौँ । योजनाको प्राथमिकता हेरेर हामी क्रमैसँग पूरा गर्दै जान्छौँ ।’
वैशाख ३ गतेबाट सुरु यो अभियानमा संघीय सांसद श्रेष्ठ, प्रदेश सांसद शाक्य, मेयर शाक्य र सम्वन्धित वडाका वडाध्यक्षहरु र सदस्यहरु सहभागी हुने गरेका छन् ।

पहिलो चरणमा महानगरपालिकाका २२,२१ र १२ र १४ मा दैनिक साँझ र विहान यो अभियान सञ्चालन हुने शाक्यले जानकारी दिनुभयो । ‘पहिलो चरणको अभियान १० गतेभित्र सम्पन्न गर्छौँ,’ सांसद शाक्यले भन्नुभयो, ‘त्यसपछि जनताबाट प्रत्यक्ष आएका सुझावलाई सहरी विकास विज्ञसँग बसेर छलफल गरेर त्यसलाई मूत रुप दिएपछि फेरि दोस्रो चरणको अभियान सुरु गर्छौ ।’

यो अभियानसँगै टालटुले विकासको परम्परा अन्त्य हुने र विकासको काम पनि पारदर्शी हुने जनप्रतिनिधिहरुको भनाई छ । ‘यो अभियनसँगै टालटुले विकास गरेर भ्रम छर्ने र जनताको मत लिने परम्पराको अन्त्य हुन्छ,’ सांसद शाक्यले भन्नुभयो, ‘त्योसँगै वास्तविक क्षेत्र समृद्ध हुन्छ ।’ उहाँले अभियानमा सबै राजनीतिक दलसँग लामो समय छलफल गरेर अघि बढाएका कारण सबै पार्टीका नेता–कार्यकर्ता, सो क्षेत्रका क्लब र स्थानीय संघ–संस्था सहभागी भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २३:२६