७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेस गुण्डाहरूको पार्टी भन्दै प्रवक्ताले नै राजिनामा दिइन


६ वैशाख, काठमाडाैँ । भारतीय कांग्रेस अाइकी प्रवक्ता प्रियंका चतुर्वेदीले शुक्रबार पार्टीबाट राजीनामा दिएकी छिन् ।  मथुरामा कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि उनले राजीनामा दिएकी हुन । समाचार संस्था एएनआईका अनुसार, लोकसभा चुनावअघि कांग्रेस पार्टी छोडेलगत्तै प्रियंका चतुर्वेदी शिवसेनामा सामेल भएकी छिन् । शिवसेनाका नेता सञ्जय राउतले प्रियंका आज नै शिवसेनामा प्रवेश गरेको बताएका छन् ।

शिवसेना प्रमुख उद्धव ठाकरेसँगकाे पत्रकार सम्मेलनमा चतुर्वेदी पार्टी प्रवेश गरेकी हुन् । शुक्रबार नै उनले कांग्रेस अध्यक्ष राहुल गान्धीसमक्ष राजीनामा दिएकी थिइन् । प्रियंकाले योभन्दा अघि सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै भनेकी थिइन्, ‘कांग्रेसमा रगत र पसिना बगाएर लाग्नेलाई भन्दा गुण्डाहरुलाई प्राथमिकता दिइन्छ, म दुःखी छु । मैले पार्टीको लागि सबै किसिमका आलोचना र अपशब्द सहेँ तर मलाई पार्टीभित्र बाटै धम्की आइरहेको छ, यो निकै दुर्भाग्यपूर्ण हो ।’ उनले ट्विटर ह्याण्डलमा पनि नामको अघि कांग्रेस प्रवक्ता पनि हटाएकी छिन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार १६:०५