१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा


५ बैशाख, काठमाडाैँ । पोखराका पत्रकार अर्जुन गिरी काठमाडाैँ जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई रिहा गर्ने निर्णय गरेको हो ।

पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डव न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई व्यवसायी विपेन्द्रराज बतासका बारेमा समाचार लेखेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई साइबर क्राइमअन्तर्गत पक्राउ गरिएको बताइएको थियो ।

तर एकजना व्यापारीको ठगीका बारेमा समाचार लेखेकै भरमा गिरीलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशैभर उनको रिहाइको माग गर्दै प्रदर्शन भएको थियो ।

महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ मा भएको व्यवस्थाले पत्रकारहरुलाई अपराधी जसरी नै पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेज गर्न माग गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रमा पनि प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ले राखिएको भन्दै महासंघले त्यसलाई हटाउन माग गरेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १७:५६