११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

प्रधानमन्त्रीको भारत भ्रमणबाट गरिएको अपेक्षा


–शान्ता चाैधरी

प्रधानमन्त्री केपी ओलीज्यूको भारत भ्रमण हुन लागेको छ । नयाँ संविधान बनेर, स्थायी सरकार बनेपछि प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण हो । तसर्थ प्रधानमन्त्रीको विदेश भ्रमणको सन्दर्भमा म केही कुरा राख्न चाहन्छु ।

नेपाल विश्वसमाजको शान्तिपूर्ण सदस्य हो । नेपालको परराष्ट नीति पञ्चशीलको नीतिमा आधारित हो । प्रधानमन्त्रीको विदेश भ्रमणले विश्वशान्तिका लागि योगदान गर्न सक्नुपर्छ र साथसाथै नेपालको समृद्धि र विकासका लागि योगदान पुराउन सक्नुपर्छ ।

शान्ता चाैधरी, सांसद एमाले

भारतको भ्रमण हुन लागेको हुनाले भारतकै सम्बन्धमा म केही कुराहरु राख्न चाहन्छु ।

भारत हाम्रो सबैभन्दा निकट छिमेकी हो । भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । बहुआयामिक सम्बन्ध भएको हुनाले समस्या पनि धेरै छन् । सम्बन्ध नहुने हो भने समस्या पनि हुँदैन, समस्या धेरै भएको हुनाले सम्बन्ध गाढा छ भन्ने पनि बुझ्नुपर्छ ।

भारतसँग नेपालको सम्बन्ध प्रगाढ छ तर बीचबीचमा समस्याहरु आइरहन्छ । विगतमा नाकावन्दी लगाउने कार्य भयो । त्यसपछि सम्बन्धमा सुधार आइसकेको छ । विगतका गल्तीबाट सम्बन्धमा पाठ सिक्दै जानु दुवै देशको कर्तव्य हो ।

नेपालको विकासमा भारतले योगदान गर्न सक्छ । हामी नेपालीमा के धारणा छ भने छिमेकी भारत र चीनको विकास भयो भने मात्र नेपालको पनि विकास हुन सक्छ । यो धारणालाई भारत र चीनले आत्मसात गर्न थालेका छन् । नेपालको विकासको साझेदार भारत हो । नेपालको विकास र स्थिरताले मात्र भारतलाई पनि फाइदा पुग्छ ।

असंलग्नता र तटस्थता नेपालको विदेश नीतिको मूल तत्व हो । भारत भ्रमणको क्रममा मात्र नभएर विश्वको कुनै पनि मुलुकको भ्रमणमा जाँदा प्रधानमन्त्रीज्यूले नेपालको यो आदर्शलाई विश्व समक्ष प्रस्तुत गर्नुहुनेछ भन्ने मेरो विश्वाश छ । नेपाल र भारतको सम्बन्ध अतितमुखी बन्न हुँदैन, भविष्यमुखी बन्नुपर्छ । दुवै देशको साझा लक्ष्य गरिबी निवारण गर्नु र समृद्धि हासिल गर्नु हो । यो साझा लक्ष्य प्राप्तिका लागि प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा ठोस उपलब्धी हासिल होस् । भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना ।

(शान्ता चाैधरी नेकपा एमालेको तर्फबाट प्रतिनिधसभाको सदस्य छिन ।) 

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १६:१०