७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अनेरास्ववियुले सार्वजनिक विद्यालय सुधार अभियान थाल्ने, यस्तो छ तयारी


२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)निकट दुई विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियू(क्रान्तिकारी)ले ‘सार्वजनिक विद्यालय सुधार अभियान –२०७६’ सञ्चालन गर्ने भएका छन् । सार्वजनिक विद्यालयमा देखिएका विकृति हटाउँदै अखिल र अखिल (क्रान्तिकारी)ले अभियान सञ्चालन गर्ने भएका हुन् । ‘म बनाउछु मेरो विद्यालय, हामी बनाउँछौँ हाम्रो विद्यालय’ भन्ने नाराका साथ दुवै सङ्गठनले आफ्ना नेता तथा कार्यकतालाई देशभरिका सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने अनेरास्ववियु(क्रान्तिकारी)का कार्यवहाक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुई अखिलले दुवै सङ्गठनका केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्मको सम्पूर्ण पंक्ति उक्त अभियानमा परिचालन गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले सार्वजनिक विद्यालयलाई आकर्षण बनाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आआफ्नो ठाउँबाट दुवै सङ्गठनका नेता कार्यकता अभियानमा सहभागी हुने बताउनुभयो । उहाँले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्नका लागि अभियान सहयोगी बन्ने बताउनुभयो । सङ्गठनले सार्वजनिक विद्यालय सुधारका लागि शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन समेत सरकारसँग माग गरेका छन् । यसैगरी दुई अखिलले विद्यालय भर्ना अभियानमा पनि परिचालित हुने भएको छ ।

विद्यालय जाने उमेर समूहका हजारौँ विद्यार्थी अहिले पनि विद्यालय जान नसकेको यथार्थलाई दृष्टिगत भर्ना अभियानलाई सफल बनाउन सङ्गठनका नेता र कार्यकर्ता परिचालन गरिने भएको क्रान्तिकारीका कार्यवहाक अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । दुवै सङ्गठनको केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र मातहतका सबै कमिटीका पदाधिकारी एवं सदस्यलाई परिचालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । यसैगरी विद्यालय जाने उमेरका सबैभन्दा धेरै बालबालिका विद्यालयबाहिर रहेको प्रदेश नं २ मो विशेष रुपमा भर्ना अभियान सञ्चालन गर्ने भएका छन् । अनेरास्ववियुकी सचिव आरती लामा र अनेरास्ववियू (क्रान्तिकारी)का सचिव सूर्यनारायण शाहको नेतृत्वमा टोली र प्रदेशका सबै जिल्ला र स्थानीय तहमा टोली परिचालन गरिने भएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार २२:४३