१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पर्यटन क्षेत्रको विकास गरेर १० लाख नेपालीलाई रोजगारी दिने वातावरण बनाऔँः प्रधानमन्त्री ओली


२७ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोगका लागि सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनु पर्ने बताए ।

बुधबार सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष, २०२०’ मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रबाट देशको आय दोब्बर बनाउने गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई आग्रह गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराए ।

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १८:१३