१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि, १ हजार वैज्ञानिक सहभागि हुने


२६ चैत, काठमाडौँ । ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि शुरु हुँदैछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिनेछ ।

स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवद्र्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुने उहाँले जानकारी दिए ।

सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १५:११