१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव हुने


१९ चैत, काठमाडाैँ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा तथा पूर्वका प्राकृतिक सुन्दरतालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’ आयोजना हुने भएको छ ।

‘अबको गन्तव्य पाथीभरा’ नाराका साथ ताप्लेजुङ र आसपास (तेह्रथुम, संखुवासभा र पाँचथर) मा रहेका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गरी पाथीभरा जाने पर्यटकलाई प्रेरित गर्न नयाँ पर्यटकीय गन्तव्यको विकास गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ताप्लेजुङ सरोकार केन्द्रको आयोजना तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको उक्त पदयात्रा काठमाडौँबाट शुरु भई धरान, धनकुटा, तेह्रथुम, संखुवासभाको सिमाना हुँदै ताप्लेजुङको पाथीभरा पुग्नेछ भने त्यहाँबाट पाँचथरको हिलिहाङ–सिलौटे पौवा भञ्ज्याङ र इलामको कन्याम–श्रीअन्तु हुँदै काठमाडौँमा आएर पदयात्रा समापन हुनेछ ।

पदयात्रा यही चैत २६ देखि वैशाख ३ गतेसम्म हुनेछ ।
पदयात्रामा सम्बन्धित जिल्लाका सांसद, स्थानीय निकायका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, बुद्धिजिवी, सामाजिक अभियन्ता, नागरिक समाज तथा स्थानीयको सहभागिता रहने आयोजकले जनाएको छ ।

पदयात्राका क्रममा धरान, धनकुटा, टुटेदेउराली, पाँचथर, इलाम, बिर्तामोडमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरिनेछ ।

चौकीमा लालीगुराँससम्बन्धी कार्यक्रम, ‘गुफामा लालीगुराँसको संरक्षण र विकाससम्बन्धी तथा मैवाखोलाको साँघुमा ताप्लेजुङको विकासमा पर्यटन र चुनौती’ विषयक कार्यक्रम हुनेछ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदयात्रा महोत्सवले नयाँ पर्यटकीय वस्तु उत्पादन र ओझेलमा परेका पर्यटकीय गन्तब्यको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटकीय पूर्वाधारको मुख्य आधार अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइ दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइनेछ भन्नुभयो ।

पर्यटनमन्त्री अधिकारीले भन्नुभयो – “मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंकले बढाउने मुख्य आधार पर्यटन क्षेत्र नै भएकाले यसमा निजी क्षेत्रको सहभागिता बढाउन लगानीमैत्री वातावरण निर्माण र प्रवद्र्धनात्मक गतिविधि अघि बढाइने छ ।”

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पूर्वको पर्यटन विकासको ठूलो अभियानका रुपमा रहेको यो पदयात्रा महोत्सव भव्यरुपमा सफल पार्न सबैको सक्रिय सहयोग चाहिने बताउँदै पूर्वका पर्यटकीय गन्तव्यमा केन्द्रित हुन पनि केन्द्रीय पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

सांसद भवानी खापुङ, राजेन्द्र राई, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले प्रदेश नं १ को मुख्य आर्थिक स्रोतका रुपमा रहेको पर्यटन र चियाखेतीको प्रवद्र्धनका लागि पनि पदयात्रा उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

पाथीभरा जाने पर्यटकमा तेह्रथुम, संखुवासभा र पाँचथरको पर्यटकीय क्षेत्रको प्रवद्र्धनार्थ पदयात्रा महोत्सव गर्न लागिएको महोत्सवका संयोजक टंक श्रेष्ठले बताउनुभयो ।

पदयात्रा महोत्सवको अनुमानित कूल लागत रु ५५ लाख २५ हजार रहेको र यसका लागि १० भन्दाबढी निजी संस्थाको सहयोग रहनेछ ।

प्रमुख धार्मिकस्थल पाथीभरा मनले चिताएको पु¥याइदिने साक्षात देवीका रुपमा पनि प्रसिद्ध छ । तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको चुलीका रुपमा लिइन्छ । पाथीभरा दर्शन गर्न वार्षिक सात लाख तीर्थयात्री पुग्ने गरेको केन्द्रले जनाएको छ ।

ताप्लेजुङमा कञ्चनजंघागालगायत पाँच हजार मिटरमाथिका मात्रै पाँच वटा हिमाल छन् । विश्वकै सुन्दरतम् मध्ये एक भनिएको सिंहलीला हिमश्रृंखलापनि यसै क्षेत्रमा पर्दछ । आकर्षक कुम्भकर्ष हिमाल तथा लिम्बू जातिको पवित्र तीर्थस्थल फक्तालुङ र बौद्धमार्गीको ऐतिहासिक दिकिछ्योलिङ गुम्बा पनि ताप्लेजुङमा पर्दछ ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार २१:०९