१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

मिडियाको नाममा मानवतस्करीको धन्दा, ओएस नेपालका कार्की र डाँगीविरूद्ध मुद्दा चलाउने तयारी


२४ चैत, काठमाडाैँ । नेपाल प्रहरीले ओएस नेपालले मिडियाको नाममा मानवतस्करी गरिरहेको रहस्य पत्ता लगाएको छ । महानगरीय अपराध महाशाखाले अमेरिका जाने लोभमा ठगिएका नेपालीहरूको सम्बन्धमा कान्तिपुर दैनिक र दैनिकी डटकम अाएको समाचारपछि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । विभिन्न कार्यक्रमको बहानामा नेपालीलाइ अमेरिका प्रवेश गराइ ओएस नेपालले मानवतस्करी गरिरहेको पत्ता लगेको हो ।

ओएस नेपालको यो तस्करीको विषय अमेरिकी दूतावासले समेत नोटिसमा लिइसेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले दैनिकीलाई जानकारी दिए । सांसदहरूको सहभागिता देखाएर त्यही बहानामा अरू मानिससँग लाखाैँ असुलगरी मानवतस्करी गर्न खोजेको उसको पछिल्लो प्रयास भने अमेरिकी दूतावासले असफल बनाइदिएको छ ।

ओएस नेपालले कार्यक्रममा सहभागिताको लागि भन्दै १५ जनाको नाममा पठाएको पत्र ।

एसएसपी सिंहका अनुसार प्रहरी अहिले अनुन्धानकै क्रममा रहेको छ यद्यपी ओएस नेपाल नामक संस्थाका प्रमुख केशबहादुर कार्की र नेपालमा बसेर मानवतस्करीको गिरोह सञ्चालन गर्ने उसको एजेण्ड भरत डाँगीका विरूद्धमा मुद्दा चलाउने तयारी भैरहेको छ । कार्की अमेरिकामै रहेका छन भने उनका एजेण्ड डाँगी लाखाैँ रूपैयाँ उठाएर भूमिगत भएका छन । ओएस नेपालले यसअघि पनि कन्सर्ट, अवार्ड र विभन्न नाममा नेपालीलाई अमेरिका प्रवेश गराउने र १० देखि ३० लाखसम्म उठाउने गरेको रहस्य पत्ता लागेको छ । यसबारेमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

अमेरिका जाने आसमा लाखौं रुपैयाँ डुबाएका दर्जन पीडितले अमेरिका जाने भिसा नपाएपछि ओएस नेपालको मानवतस्करीको धन्दाको बारेमा तथ्यहरू बाहिर अाएको हो । पीडितहरूले भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्धय अमरबहादुर थापाले अाफ्नी श्रीमतिलाई र सीता नेपाली अाफैँले अन्तिमसम्म अमेरिका जान लागिपरेको र उनीहरूकै विश्वासमा पर्दा आफ्नो रकम डुबेको गुनासो गरेका छन् । भिसाका लागि अन्तर्वार्ता दिन फागुन २९ गते अमेरिकी दूतावास पुगेका दाङ, तुलसीपुरका हिमाल बस्नेतले सांसद थापालाई दूतावासअगाडि भेटेको बताएका छन ।

ओएस नेपालका प्रमुख केशबहादुर कार्की ।

अमेरिका जाने आसमा १२ लाख रुपैयाँ डुबेको उनले बताए । ‘नेताहरूसँगै जाने हो भनेपछि पत्याइयो,’ उनले भने, ‘अन्तिममा धोका पाइयो ।’ सांसदद्वयले अन्तिम समयसम्म अमेरिका जान सकिने बताएको पीडितहरूले आरोप लगाएका छन् । दैनिकीको सम्पर्कमा अाएका आएका अर्का पीडितले भने, ‘भिसाको निम्ति दूतावासले लिने अन्तर्वार्ताको दिन पुगेका दस जनासँग सांसद थापा आफैंले भेटेर कुरा गरेका थिए ।’

अमेरिकाको ओएस नेपाल नामक संस्थाका प्रमुख केशबहादुर कार्कीले फेब्रुअरी २४ मा काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेर सांसद सीता नेपालीलाई नन इमिग्रेन्ट बी वान बी टु भिसा दिन अनुरोध गरेका थिए । कार्कीले कार्यक्रममा सांसद सीता नेपाली, अम्बरबहादुर थापासहित १५ जना सहभागी हुने भन्दै दूतावासलाई अर्को पत्र पनि पठाएका थिए ।अमेरिकाबाटै सञ्चालित ओएस नेपाल डट कम नामक अनलाइन पोर्टलको अध्यक्ष केशबहादुरले सांसदसँगै अन्य १३ जनालाई अमेरिका पुर्‍याउने काममा रोल्पाका भरत डाँगीको सहयोग लिएका थिए ।

नेकपाकी सांसद सीता नेपालीका नाममा पठाएको विशेष निमन्त्रणापत्र ।

अमेरिकाको क्यालिफोर्नियामा हुने ‘राष्ट्र निर्माणमा महिलाको भूमिका : अनुभव आदानप्रदान’ नामक कार्यक्रममा सहभागी हुने भन्दै रुकुम र दाङलगायत जिल्लाका दर्जन पीडितले भरत र उनले भनेका मान्छेलाई रकम बुझाएका थिए । सबैजसो पीडितले प्रतिव्यक्ति १० लाखभन्दा धेरै रकम बुझाएको बताएका छन् । मानव तस्कर गिरोहले दुवै सांसदलाई अघि सारेर अमेरिका लैजाने नाममा डेढ करोडभन्दा धेरै रकम उठाएको पाइएको छ ।

प्राप्त कागजातअनुसार दुई सांसदका अलावा सुनीता खड्का, कपिता श्रेष्ठ, नवराज गोतामे, हिमाल बस्नेत, नरेश खड्का, विवेक खड्का, सुदर्शन लिम्बू, दिलीपकुमार थापा, सावित्री थापा कुँवर, तारापति पौडेल, पाना थापा क्षत्री र मीना ओली अमेरिका जान लागिफरेका थिए । ओएस नेपालले सांसदसहितका व्यत्तिले विभिन्न सामाजिक संघसंस्थाको प्रतिनिधित्व गर्ने भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई झुक्याउन खोजेको देखिन्छ । तर पीडितहरूको कुरा सुन्दा सांसदहरूको पनि मिलेमतो रहेको अाशंक गर्ने पर्याप्त ठाउँहरू भेटिन्छन । पछिल्लो समय मानवतस्करी जस्तो गम्भीर अपराधमा रातोपासपोर्टधारी राजनीतिक व्यक्तिहरू जोडिनु र संलग्नुहरूलाइ गम्भीर अनुसन्धानको विषय बनाउनु अावश्यक समेत देखिएको छ ।

यो पनि पढ्नुहोस्

–नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)

–रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १०:००