१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विनोद चौधरीको सिजी इलेक्ट्रोनिक्सको किर्ते प्रमाणित, २४ करोड असुल्न अदालतको आदेश


१९ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता बिनोद चौधरीको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको खुलासा भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसको मुख्य वक्ता नै रहेका चौधरीको सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको हो ।

उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न गत हप्ता आदेश दिएको छ । उच्च अदालत पाटनले बीमा समितिको निर्णय सदर गर्दै सिजीको किर्ते ठहर गरेको छ । आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सिजि इम्पेक्स, इओए र सिजि इलेक्ट्रोनिक्स विनोद चौधरीले नेतृत्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हो भने दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर स्वामित्व भएको कम्पनी हो ।

एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई ३/३ हजार जरिवाना समेत गरिएको छ । २०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।

सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो । अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजिले किर्ते गरेको प्रमाणित भएको हो । सिजिले बढी दाबी लिएको प्रमाणित भएपछि अब २४ करोड रुपैयाँ युनाइटेड इनसुरेन्सलाई फिर्ता गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार २१:२५