१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !


१६ चैत, काठमाडाैँ । अमेरिका लैजाने भन्दै कर्णाली प्रदेशका दुई सांसदको मिलेमतोमा मानवतस्करले दर्जन व्यक्तिसँग लाखौं ठगी गरेका छन । कर्णाली प्रदेशका सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीको मिलेमतोमा अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै मानव तस्करले लाखौ रुपैया ठगी गरेका हुन ।

दैनिकिलाई प्राप्त जानकारी अनुसार रोल्पाका भरत डाँगीले सांसदद्वय थापा र नेपालीको संलग्नतामा अमेरिकाको क्यालिफोर्नियामा ओएस नेपाल नामको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागि गराउने भन्दै लाखौ रुपैया असुल गरेका हुन । ठगिएका मध्ये एक जना पीडितले सांसदहरुसंगै जाने भने पछि आफूहरुले डाँगीलाई पैसा दिएका बताए । उनले भने, ‘अमेरिका लैजाने बिषयमा दुवै जना सांसदलाई पहिलै नै थाह थियो, साँसद जस्तो मान्छे जाने भनेपछि हामीले पनि बिश्वासमा पैसा दियौ, हामीमाथि धोका भयो । ’ अमेरिका जाने सपनामा दलाललाई पैसा बुझाएका पीडितहरुले दुतावासले भिसा नदिएपछि बल्ल आफूहरु ठगिएको मेसो पाएका थिए । भिसा नपाएपछि पैसा फिर्ता माग्न खोज्दा डाँगी फरार भएको पीडितले जानकारी दिए । अर्का एक पीडितले भने, ‘सांसद पनि जाने भनेपछि हामी पैसा तिर्न तयार भयौं। अहिले सांसदहरुले थाहै नपाएजस्तो गर्नुहुन्छ।’

कार्यक्रममको निम्तो आएकापछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए। सांसद थापासँग पहिल्यै अमेरिकाको भिसा भएकाले उनले श्रीमतीका नाममा भिसा आवेदन दिएका थिए भने सांसद नेपालीले रातो पासपोर्ट लिएर भिसा आवेदन दिएकी थिइन । उनीहरूसँगै लाखौ रुपैयाँ असुलेर डाँगीले एक दर्जन व्यक्तिको समेत आवेदन बुझाएका थिए तर दूतावासले कार्यक्रमनै फर्जी भएको भन्दै कसैलाई पनि भिसा दिएको थिएन ।

भिसा नपाएपछि आफूले बुझाएको पैसा असुलीका लागि पीडितहरुले दुबै सांसदहरुलाई दिनहु फोन गरिरहन्छन तर दुबै सांसदले आफूले पैसा नलिएको भन्दै टार्दै आएका छन । सांसदको समेत मिलेमतोमा रकम उठाउने मुख्य योजनाकार भरत डाँगी अहिले भारततिर भागेका छन् भने रकम बुझ्ने युवराज र मीनाले समयमै फिर्ता गर्ने भनी कागज गरेका छन। एक पीडितले पैसा उठाउन भित्रभित्रै पहल भइरहेको र मुद्दामामिला नगर्ने सर्त भएका कारण घटना गुपचुप रहेको बताए।

ती पीडितले कति जनासँग पैसा उठाइएको भन्ने यकिन नभएको जनाए। ‘ठगिनेहरू एक दर्जन होलान् भन्ने अनुमान छ,’ उनले भने। सांसद नेपाली र थापाले आफूहरुले कार्यक्रमको बारेमा पछि थाह पाएर नगएको बताए पनि दुताबासले दुबै जनाको भिसा अस्वीकृत गरेपछि पछाडी हटेका हुन । सांसद नेपाली नेकपा प्रदेश सभा संसदीय दलको सचेतक हुन । उनी पूर्व माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट सांसद भएकी हुन । त्यस्तै थापा दैलेखबाट प्रदेशसभामा निर्वाचित सांसद हुन ।

यो पनि पढ्नुहोस्

–दूतावासलाई झुक्याएर मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न सांसदद्धय थापा र नेपालीको माग

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १०:२६