७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

शुक्लाफाँटा पर्यटन महाेत्सवमा निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा


१४ चैत, महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव अवधिमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा दिने निर्णय गरेको छ ।
भीमदत्त नगरपालिका नगर कार्यपालिकाको ३० बैठकले महोत्सव अवधिमा निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई विदा दिने निर्णय गरेको हो । कार्यपालिका बैठकमा बैठकमा महोत्सव सफल बनाउन समेत छलफल गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन प्रवद्र्धनमा सहयोग पुगाउन शुक्लाफाँटा पर्यटन महोत्सव अवधिभरि निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिन विदा दिने निर्णय गरिएको बताए ।


‘शुक्लाफाँटाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको छ, त्यसलाई सफल बनाउन, पर्यटन प्रवद्र्धन गर्न कार्यपालिका बैठकबाट एक दिन कर्मचारीलाई विदा दिने निर्णय गरिएको छ’ उनले भने, ‘यसबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आशा गरिएको छ ।’
नगर प्रमुख विष्टले कार्यालयको कामकाज नरोकिने गरी कर्मचारीलाई निकुञ्ज भ्रमणका लागि विदा दिइने जानकारी दिए ।
कार्यपालिका बैठकमा महोत्सव सफल बनाउन सबै पक्षसित सहकार्य र समन्वय गरी जाने विषयमा छलफल गरिएको छ । ‘शुक्लाफाँटा पर्यटन महोत्सव सफल बनाउन सबै पक्षसित सहकार्य र समन्वय गरी जाने विषयमा छलफल गरियो’ नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले भने, ।
भीमदत्त नगरपालिकाको संयोजनमा कञ्चनपुरका सबै स्थानीय तह र सरोकारवालाको संयुक्त आयोजनामा चैत १५ देखि २१ गतेसम्म शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुन लागेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि समृद्धिका लागि पर्यटन भन्ने नारा सहित महोत्सव आयोजना गर्न लागिएको छ । महोत्सवमा तीन हजारदेखि तीन हजार पाँच सय जनालाई शुक्लाफाँटा निकुञ्ज घुमाउने लक्ष्य राखिएको छ ।
चैत १५ गते मझगाउँमा औपचारिक कार्यक्रम गरी महोत्सव उद्घाटन गरिएपछि पर्यूटकहरुलाई निकुञ्जभित्र घुमाइने कार्यक्रम तय गरिएको छ ।
दैनिक ३ सयदेखि ५ सय पर्यटकलाई निकुञ्ज घुमाउने कार्यक्रम अनुसार तयारी भई रहेको महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले बताए ।
आन्तरिक र बाह्य पर्यटकलाई दैनिक निकुञ्जभित्र घुमाउने गरी पहिलो पटक महोत्सव आयोजना गरिएको हो । यो महोत्सव अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक निकुञ्ज घुम्ने अपेक्षा गरिएको छ ।
‘शुक्लाफाँटा वन्यजन्तु आरक्ष निकुञ्ज भएपछि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना भई रहेको छ, दैनिक तीन सयदेखि पाँच सय जना घुमाउँदा तीन हजारदेखि तीन हजार पाँच सय जनासम्म पर्यटक निकुञ्जको भ्रमण गर्ने छन्, यो संख्या अहिलेसम्मकै ठूलो हुनेछ’ उनले भने,‘त्यसैले यो महोत्सव ऐतिहासिक हुनेछ, यसलाई भव्य बनाउन सबै पक्षसित सहकार्य र समन्वय गरिएको छ ।’
३ सय ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटा निुकञ्ज बाह्रसिंगाको बथान र पाटेबाघको पहिचानले परिचित छ । शुक्लाफाँटा घाँस मैदानमा देखिने बाह्रसिंगाको बथान पर्यटकहरुका लागि आकर्षण बन्दै आएको छ ।
महोत्सव सफल बनाउन सबै स्थानीय तह सहित नाटा सुुदूरपश्चिम, कञ्चनपुर उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, यातातायात व्यवसायी समिति, निर्माण व्यवसायी समिति लगायतका सरोकारवाला सक्रिय रुपमा लागेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा पर्यटन महोत्सव सुदूरपश्चिम प्रदेशका लागि महत्वपूर्ण महोत्सव भएकाले सबै स्थानीय सरकारको सहयोग हुने बताए ।
केही दिन अघि कृष्णपुर नगरपालिकामा बसेको स्थानीय तहका प्रमुख उप प्रमुखकाृे बैठकले महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड महोत्सव प्रवद्र्धक छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार १३:३३