११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

दक्षिण अष्ट्रेलियामा नेपाल फेस्टिवल हुने


१० चैत, एडिलेट । एनआरएन दक्षिण अष्ट्रेलियाको आयोजनामा ‘नेपाल फेस्टिवल २०१९’ आयोजना गरिने भएको छ । मेला आगामी १४ अप्रिलमा (२०७६ बैशाख १ गते) एडिलेटको लाइट स्वायरमा आयोजना गर्ने निर्णय भएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा दक्षिण अष्ट्रेलियाका अध्यक्ष अशोक केशीले बताउनुभयो ।

मेलामा दुई देशबिचको सम्बन्ध प्रगाढ़ एवं सुदृढीकरण गरी अष्ट्रेलियाबाट भिजिट नेपाल २०२० का लागि नेपालमा पर्यटन प्रबर्धन सम्बन्धी जानकारी दिने र नेपाली व्यवसायको व्यवसाय विस्तार गर्ने लक्ष्य रहेको छ । मेलाले नेपाली उत्पादनको प्रचार प्रसार र बजार प्रबर्धन गर्ने बताइएको छ । साथै यहाँ रहेका नयाँ पुस्तालाई नेपाली कला संस्कृतिकाे परिचय गराउने उद्देश्य लिईएकाे अध्यक्ष केशीले बताउनुभयो । मेलामा नेपाली विभिन्न संघ संस्था सहित नेपाली वाणिज्यदुतावासकाे समेत सहकार्य रहेकाे छ ।

मेला आयोजनाका लागि एनआरएन साउथ अष्ट्रेलियाका अध्यक्ष केशीको संयोजकत्वमा २५ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन भएको छ । समिति अन्तरगत १७ वटा उप समिति गठन गरिएको छ । मेलामा सफलताको लागि उप समितिहरु कृयासिल भैरहेको एनआरएन साउथ अष्ट्रेलियाका सचिव प्रकाश पनेरुले जानकारी गराउनु भयो । पनेरूका अनुसार मेलामा विभिन्न ३० वटा स्टलहरु रहने छन् । भने मनोरञ्जनात्मक कार्यक्रमका लागि नेपालबाट चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, कालीप्रसाद रिजाल, बेनिसा हमाल, कर्ण दास र जनगायक जीवन शर्मा अाउदै हुनुहुन्छ ।

प्रत्येक २-२ बर्षमा आयोजना हुने नेपाल फेस्टिवल नेपालीहरुले एउटा पर्वको जस्तै गरि मनाउदै आएको व्यवस्थापन समिति सदस्य समेत रहनु भएका हेम खनालले बताउनु भयो । मेलामा यहाँका नेपालीहरु बिचमा विभिन्न प्रतीभा प्रस्तुति गर्ने खालका कार्यक्रमहरु राखिएको मेलामा प्रबेस नि शुल्क रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आईतवार ०७:१४