१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

किष्ट कलेजको लुटमा प्रधानमन्त्रीको चासो, डा हरि लम्सालको संयोजकत्वमा छानविन समिति गठन


२ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किष्ट मेडिकल कलेजको लुटका बारेमा चासो लिएका छन । सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजले आन्तरिक परीक्षामा फेल गराएको समाचार शुक्रबार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले आफैँले चासो लिएर शिक्षा मन्त्रालय मार्फत कारबाही प्रक्रिया अघि बढाएका छन ।

 

आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट वञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान गरिरहेको छ । यद्यपी यस प्रकारको गम्भीर लापरवाही भएको विषयमा प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले सहसचिव डा हरि लम्सालको संयोजकत्वमा एउटा छानविन समिति गठन गरेर नै कारबाही अघि बढाइएको छ । छानविन समितिको सदस्यहरूमा शिक्षा मन्त्रालयकै उपसिचव विष्णु प्रसाद मिश्र, राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत नेपाल प्रहरीका प्रहरी उपरीक्षक कमलप्रसाद अधिकारी र प्रहरी निरीक्षक बुद्धिराज खनाल सदस्य रहेका छन ।

समितिलाई समय नतोके पनि शुक्रबारबाटै काम थालिसकेको संयोजक डा लम्सालले दैनिकीसँग बताए । उनले कलेजको हिजै आकस्मिक निरीक्षण गरेर सामान्य बुझ्ने काम भएको भन्दै केही दिनमै छानविनको काम सक्ने बताए ।

मेडिकल काउन्सिलका  अनुसार आन्तरिक परीक्षाको नम्बर शिक्षकले दिनुपर्नेमा किस्टमा सञ्चालकले नै दिएको खुलेको छ । उजुरी दिने विद्यार्थी पहिचान गरेर सञ्चालक आशिष थापालगायतले नै फेल हुनेगरी नम्बर दिएको बुझिएको छ । कलेजले मंसिर अन्तिम र पुसको सुरुतिर पहिलो वर्षको आन्तरिक परीक्षा लिएको थियो । त्यसको १५–२० दिनको अन्तरमा दोस्रो वर्ष र माघको अन्तिम र फागुनको सुरुतिर तेस्रो वर्षको आन्तरिक परीक्षा लिएको थियो । विश्वविद्यालयले लिने अन्तिम परीक्षा पनि फागुन अन्तिम वा चैतको सुरुतिर हुन्छ ।

नयाँ पत्रिका दैनिकका अनुसार पटकपटक अतिरिक्त शुल्क लिँदै आएको किस्ट मेडिकल कलेजले १०औँ ब्याचका विद्यार्थीलाई थप ९० हजार ९७ रुपैयाँ बुझाउन गत २७ असोजसम्मको अल्टिमेटम दिएको थियो । त्यसका विरुद्ध विद्यार्थीले २४ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल मेडिकल काउन्सिल र चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०मा हस्ताक्षरसहित न्याय माग्दै उजुरी दिएका थिए । तर, समस्या समाधान गर्नुको सट्टा कलेज सञ्चालकहरूले उजुरी दिने विद्यार्थीको नाममा मात्र चासो राखेका थिए । पछि सञ्चालकहरूले नै नम्बर दिएर विद्यार्थी फेल गराएका छन ।

प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमा उठ्ने प्रश्न र सञ्चारमाध्यममा आएका समाचारमा आएका तथ्यपरक विषयमा चासो व्यक्त गरेर कारबाहीको प्रक्रिया अघि बढाएको यही पहिलो पटक भने होइन । केही महिना अघिमात्रै टुटल पठाओको कारबाहीका सन्दर्भमा समेत प्रधानमन्त्री ओली आफैँले चासो लिएर समाधान गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार १०:५७