१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खशाेग्गी हत्या प्रकरणको अन्तर्राष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबद्धारा अस्वीकार


१ चैत्र, काठमाडाैँ । प्रसिद्ध पत्रकार जमाल खशाेग्गी हत्या प्रकरणको अन्तर्राष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफूसँग भएको साउदी अरबको दावी छ ।

जेनेभामा राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा बोल्दै साउदी प्रतिनिधिमण्डलका प्रमुख बन्दार अल–ऐवानले भने “अनुसन्धानका लागि हस्तक्षेपकारी अन्तर्राष्ट्रिय भूमिकाको मागले साउदी अरबको आन्तरिक मामिलामा हस्तक्षेप हुने र यसमा साउदी अरब सहमत हुन सम्भव छैन ।” अल–ऐवानले परिषद् बैठकमा भने “साउदी अरबसँग यो जघन्य अपराधलाई कानूनी दायरामा ल्याउने सबै उपायको प्रयोग गरी घटनाको अनुसन्धान गरिरहेको छ ।”

ऐवान मानव अधिकार उल्लङ्घनबारे साउदी अरबको मुल्याङ्कन गर्नका लागि जेनेभा गएका हुन् । जहाँ साउदी अरबमाथि खसोग्गी प्रकरणलगायतका मानव अधिकार उल्लङ्घनका आरोप विश्वका धेरै मुलुकका प्रतिनिधिले लगाएका थिए । गएको हप्ता विश्वका ३६ राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी खशोग्गीको हत्यारालाई कानुनी कठघरामा उभ्याइ पीडित परिवारलाई न्याय दिलाउन गरिएको आह्वानप्रति प्रतिक्रिया दिँदै साउदी अरबको यस्ताे भनाई आएको हो ।

वासिङ्टन पोस्टका स्तम्भकार खशाेग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो ।

उनकाे हत्यामा साउदीको शक्तिशाली राजपरिवारकै निर्देशन रहेको भन्दै विश्वभरबाट रियादको आलोचना भइरहेको छ । आलोचना बढेपछि विश्वकै प्रमुख तेल निर्यात राष्ट्र साउदी अरब अहिले संकटमा फसेको छ । खशोग्गीकी प्रेमिकाले उनी बेपत्ता भएको सार्वजनिक गरेकी थिइन् । खशोग्गी बेपत्ता भएको विषय बाहिरिएपछि टर्कीले साउदीको वाणिज्य दूतावासमै उनको हत्या भएको र त्यसबारे आफूसँग प्रमाण रहेको बताएको थियो ।

टर्कीलगायतका देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले यो आरोप अस्वीकार गरेको थियो । पछि, उसले खशोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा ज्यान गएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको आरोप लगाएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यममा साउदीका युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आइरहेको छ । रासस

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार ०७:५४