१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलनको मागसहितको राप्रपाको स्वाभिमान यात्रा काठमाडौँमा


३० फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै यही फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौँ आइपुगेको छ ।

करीब दुई सातासम्म गरिएको उक्त यात्रामा करीब दुई हजार ८१० किमीको दूरी पूरा भएको छ भने साना ठूला गरी करीब १५० सभा गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । करीब ५०० यात्री सहभागी भएको यात्रामा स्थानीय सङ्गठनले आवश्यक सहयोग र सहकार्य गरेका थिए । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दू, बौद्ध र किराँत धर्म झल्कने सन्देश तथा पशुपतिनाथ, गाई, बौद्ध स्तूपाका ब्यानरलाई प्रयोग गरिएको थियो ।

राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको हो । हिन्दूराष्ट्रका पक्षमा देखिएको जनताको समर्थनलाई छिट्टै सम्बोधन गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार २१:०९