७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारी प्रतिबन्धले विप्लव माओवादीलाई शक्तिशाली बनाउला कि समाप्त ?


२९, फागुन, काठमाडाैँ । विप्लव नेतृत्वको नेकपाको रणनीतिक योजना पछिल्लो पटक सफल भएको छ । विप्लवको चतुर्याईले मूलधार राजनीतिमा आफ्नो एजेन्डा ल्याई पुर्‍याएको छ । पार्टीभित्र चर्किदैं गएको दुई लाइन संघर्षलाई व्यवस्थित गर्न सरकारको प्रतिबन्ध लगाउने निर्णय विप्लवलाई सब‌ै भन्दा फाइदा साबित हुने सिद्ध भइसकेको छ ।

पूर्व माओवादी समूहबाटै सरकारको निर्णयप्रति बढी असहमति प्रकट भएका छन् । यी असहमति अब, शहरिया बुद्धिजीवीहरूका मनमा पसे । जानि नजानि प्रतिपक्षहरू पनि त्यतै लहसिन्छन । आज बिहानदेखि बैधानिक रूपमा विप्लव माओवादीको एजेन्डा संचारमाध्यमा वहसको विषय बन्नेछ । वहसले सरकारको निर्णयप्रति नकारात्मकता र विप्लव माओवादीप्रति सकारात्मक सन्देश लैजानेतिर बढि केन्द्रित हुने देखिएको छ ।

सरकारले निर्णय किन गर्यो ? त्यो उसको बाध्यता हो । राज्यको उपस्थिति देखाउनु थियो । शृखलाबद्ध बम विष्फोटबाट सर्वसाधारण, जनधनको क्षति भएको छ। यसलाई रोक्न नसकेको भनि सरकारको आलोचना पनि उत्तिकै छ । यसबीचमा विप्लव माओवादीभित्र यतिबेला मतभेद देखिए पनि बैचारिक पक्षमा त्यति छैन । बरू, जताततै चन्दा आतंकले पार्टी बदनाम हुँदै जाने विषय नै मतभेदको मुख्य विषय केन्द्रित हुँदै गयो । केही नेताहरूबीचको मतभेद पैसा कसले बढी जम्मा पार्ने भन्नेमै छ ।

एनसेलबाट पैसा लिने विषयमा मध्य कमान्डका ईन्चार्ज हेमन्त प्रकाश ओली सुदर्शन र प्रकाण्डबीच लामै टकराव चल्यो। वैदेशिक रोजगार संघलाई चार महिनाअघि दिएको पत्र फिर्ता लिएपछि अध्यक्ष रोहन गुरुङ आफूलाई असुरक्षित महसु गरी आफ्नो नीजि गाडी चढ्न समेत छोडेका थिए । यि सबै प्रकरणले पार्टी न बँच्ने देखिएपछि विप्लवको प्रत्यक्ष कमाण्डमा बम विष्फोट गराइएको छ ।

सुदर्शनलाई कमान्ड दिइराखिएको छ । तर, अप्ठ्यारो परिस्थिति सृजना गरिदिएपछि उपत्यकाबाट बाहिरिनु परेको छ । जसले चन्दा आतंकको बदनामीबाट पार्टी पनि जोगिने, सरकार विरूद्ध कार्यकर्तालाई र नेतृत्व केन्द्रिकृत गराउने रणनीतिमा विप्लव सफल देखिएका छन् । यता सरकार विप्लव माओवादीभित्र देखिएको आन्तरिक किचलोलाई चर्काएर कमजोर बनाउने रणनीतिमा देखिन्छ । प्रतिबन्ध लगाएपछिको अप्ठ्यारो परिस्थितिबाट विप्लव माओवादी शक्तिशाली बन्ने वा सकिने विषय विप्लवका भावि गतिविधि र सरकारको रबैयामा निर्भर देखिन्छ । (नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजीर मगरले सामाजिक सञ्जालमा गरेको टिप्पणी)

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०७:२१