८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कुनै पनि वेला नेपालका विकट पहाडी भूभागसहित देशभर रेल दौडन्छ


–झलनाथ खनाल

मुलुकको परिस्थिति यतिवेला बिल्कुलै नयाँ मोडमा अघि बढिरहेको छ । लामो समयको अस्थिर राजनीतिपछि ०६२/६३ मा ठूलो परिवर्तन गर्यौँ । मुलुकमा ठूलो जनक्रान्ति सम्पन्न भयो । त्यो जनक्रान्तिपछि १० वर्ष लगाएर आफ्नो संविधान बनायौँ । यो संविधान लोकतान्त्रिक छ, देशभक्तिपूर्ण छ र प्रगतिशील पनि छ । यस्तो संविधान निर्माण गरिसकेपछि संवैधानिक व्यवस्थाअनुसार नै गर्नुपर्ने तीनै तहका निर्वाचन सम्पन्न गरिसकेका छौँ । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सकिएको छ । यी तीनै तहका निर्वाचन सम्पन्न हुँदा नेपालमा वामपन्थी शक्ति सबैभन्दा प्रबल शक्तिका रूपमा उदाएको छ । केन्द्रमा वामपन्थी शक्तिको ठूलो बहुमत छ । हामीले झन्डै झन्डै दुईतिहाइ मत पाएका छौँ ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा वामपन्थीकै नेतृत्वमा सरकार बनेको छ । बाँकी रहेको सातौँ अर्थात प्रदेश–२ मा पनि वामपन्थीहरूको वर्चश्व महत्वपूर्ण नै छ । स्थानीय तहमा पनि ठूलो संख्यामा हामी वामपन्थीहरू विजयी भएका छौँ । यसरी मुलुक अहिले वामपन्थीमय भएको छ । नेपालको इतिहासमा यो अभूतपूर्ण कुरा हो । र, दूरगामी महत्वको कुरा पनि हो । यसले आमनेपाली जनताको आशा र भरोशालाई चुल्याइदिएको छ । अनि विराट सम्भावनाकासामू राष्ट्र खडा भएको छ । त्यसैले पनि अहिले जुन सरकार निर्माण भएको छ, उसका काँधमा अत्यन्तै गह्रुँगा जिम्मेवारी आएका छन् । यी जिम्मेवारी पूरा गर्नुपर्ने अवस्थामा वामपन्थी नेतृत्वले मुलुकको समग्र परिस्थितिमा कायाकल्प हुनु अब अनिवार्य छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद हुन्छ

वर्तमान सरकारले देशको विकास सँगसँगै छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय जगतमा आफूलाई शक्तिशाली बनाएर लैजाने योजना बनाएको छ । यसैको पहिलो कदमस्वरूप प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहीदिन अघि मात्र कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय समूदायको प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई बोलाएर सरकारको लक्ष्य, उद्देश्य प्राप्तीका लागि चाल्ने कदम, कूटनीतिक सम्बन्ध, छिमेकीसँग राख्ने सम्बन्धका बारेमा जानकारी गराउनुभएको छ । यो सम्बोधनले नेपाल कसरी अघि बढ्छ भन्ने विषयमा कसैलाई पनि अन्योल छैन भन्ने लागेको छ ।

नेपालको बाटो सुस्पष्ट छ । यो स्वतन्त्र मुलुक हो । सार्वभौमसत्ता सम्पन्न मुलुक हो । राष्ट्रिय अखण्डताले युक्त मुलुक हो । र, नेपाली समाजका यथार्थता र वास्तविकता अनुरूप यो देशलाई समाजवादको लक्ष्यतर्फ अघि बढाउन दृढ संकल्पित छौँ । समाजवादतर्फ अघि बढ्ने सिलसिलामा हाम्रा आर्थिक नीति कस्ता हुन्छन्, राजनीतिक नीति कस्ता हुन्छन्, सामाजिक र सांस्कृतिक नीति कस्ता बनाइन्छन्, हाम्रो विदेश नीति कस्तो हुन्छ रु यो कुरा बुझ्ने जिज्ञासा अन्तर्राष्ट्रिय जगतको थियो । पहिलो कदमका रूपमा प्रधानमन्त्रीले यसलाई जवाफ दिनुभएको छ । सबैलाई आगामी कदम र नेपाल सरकारको धारणा र अडानबारे स्पष्ट पार्नुभएको छ । स्वभाविक रूपले अब नेपालका विश्वव्यापी सम्बन्धहरू अपेक्षित ढंगले विकसित हुनेछन् । सुदृढ हुनेछन् । कसैसँग पनि अन्योल राखेर हामी अघि बढ्दैनौँ ।

रेल र तेलका कुरा

अहिले नेपालमा आठ वटा सरकार छन् । एउटा केन्द्रीय सरकार अनि सात प्रदेशमा सात प्रदेश सरकार । स्थानीय सरकारको कुरा थप्ने हो भने त, घरघरबाटै जनताले सरकारको अनुभूति गर्छन् । तिनै अनुभूतिलाई अब समृद्धितर्फ लैजान आवश्यक छ । यस विषयमा सरकारको नेतृत्व गर्ने दलले दलगत रूपमा, व्यक्तिले व्यक्तिगत रूपमा नै योजना बनाइरहेका छन् । एमालेले त्यस विषयमा गम्भीर छलफल पनि गरिरहेको छ । अहिले सरकार गठन भएको लामो समय पनि बितेको छैन । यो वेलामा कसरी अघि बढ्ने भन्ने योजनाकै चरणमा हामी सबै छौँ । अब चाँडै नै जनताले महसुस गर्नेगरी जनताका प्रतिनिधिले काम थाल्नेछन् । धेरै ठाउँमा त सुरु पनि भइरहेको छ । अहिले पहिलो चरणमा योजना तर्जुमा गर्ने तथा आवश्यकता पहिचान गर्ने क्रममै सरकार केन्द्रित छ ।

धेरै चर्चामा आउने गरेको तेल र रेलको सम्भावनाका विषयमा पनि हामी गम्भीर नै छौँ । विश्वसमुदाय धेरै अघि बढेको छ, प्रविधिको हिसाबमा । हामी त्यही प्रविधिलाई टेकेर चाँडै नै नेपालव्यापी रूपमा तराई र पहाडी क्षेत्रमा पनि रेल गुडाउने योजना बनाएका छौँ । यति नै समय भनेर समय किटेर भन्न नसके पनि अहिले सर्वेक्षणको काम भइरहेको छ । अब उचित व्यवस्थापनसहित सर्वेक्षणलाई कार्यान्वयन गर्ने वेला आएको छ । त्यसैले कुनै पनि वेला नेपालका विकट पहाडी भूभागसहित देशभर रेल दौडन्छ भन्नेमा कुनै पनि विवाद छैन । अर्को तेलको कुरा पनि हाम्रो अनुसन्धानको विषयमा छ । हामीले त्यसलाई खोजिरहेका नै छौँ ।

तेल छ, सम्भावनाचाहिँ धेरै देखापरेका छन् । तर, अहिलेसम्म हामीले निकाल्न सकेका छैनौँ । निकाल्न सक्यौँ भने नेपालजस्तो मुलुक जुन भूपरिवेष्टित छ । तेल ल्याउन सधैं वाधा, अल्झन र झन्झट हुने गरेको छ । त्यो झन्झटबाट मुक्ति मिल्छ । यो वामपन्थी सरकारले तेलको खोजी गर्ने कुरालाई महत्व दिन्छ । यो कामलाई सरकारले पनि प्राथमिकताका साथ अघि बढाउने छ । हामी आंशिक रूपले सरकारमा रहँदा पनि यो विषयलाई उठाउन खोजेका थियौँ । अब त स्थायी सरकार निर्माण भएको छ । तेल खोजीले अब गति लिन्छ ।

सरकारका चुनौती

हामीले सबै नेपालीले अधिकारको महसुस गर्नेगरी संविधान निर्माण गरेका छौँ । सोही संविधानले दिएको कार्यक्षेत्रमा रहेर निर्माण भएका सात प्रदेश सरकार, एक केन्द्रीय सरकार र स्थानीय सरकारले आफ्नो जिम्मेवारीलाई कडाइका साथ पूरा गर्नु जरुरी छ । अहिले विभाजित सबै निकायले हामीसँग भएको स्रोत र साधनमा निर्भर रहेर, त्यसको ठीक ठंगले प्रयोग गरेर विकास निर्माणका क्षेत्रमा अघि बढ्नुपर्छ । जनताले परिवर्तन महसुस गर्ने खालका नीति निर्माणमा लाग्नुपर्छ ।

नयाँ कार्ययोजना बनाउन सक्नुपर्छ । त्यसलाई सञ्चालन गरी तोकिएको लक्ष्य पूरा गर्ने दिशामा अग्रसर हुन आवश्यक छ । राज्यमा सुशासन कायम गर्नु सबैभन्दा ठूलो चुनौती हो । भ्रष्टाचारको अन्त्य गर्न अहिलेको सरकार लागि परेको पनि छ र रोक्नु जरुरी छ । सबैतिर मौलाइरहेको भ्रष्टाचारी प्रवृत्ति अन्त्य गर्न सके आधा नेपाल स्वतः विकास हुन्छ । त्यसैले सरकारले स्थानीय प्रशासनलाई पनि आफ्नो जिम्मेवारी बोध हुने खालका काम दिएर उनीहरूबाट पनि नतिजामुखी कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाउनु जरुरी छ ।

संविधान नै पूर्णरूपमा अध्ययन नगरी गरिएका विश्लेषणले कहिलेकाहीँ अफ्ठेरो स्थिति पनि सिर्जना हुन्छ । त्यसैले पहिलो काम संविधान कार्यान्वयनको हो । संविधान कार्यान्वयन भएपछि नपुग कानुन बनिसकेका हुनेछन् । अहिले स्थानीय निकाय, प्रदेशका प्रतिनिधिले कतव्र्य पूरा गर्ने हो । अधिकार मात्र खोज्नेले विकास गर्दैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।

पार्टी एकताभन्दा जोगाइ राख्न चुनौती

नेपालमा वामपन्थी इतिहासले ७० वर्ष टेकेको छ । पहिलो र दोस्रो दशक वामपन्थी पार्टीको विकासमा केन्द्रित रह्यो । तेस्रो दशकमा आएपछि धेरै टुक्रामा विभाजित भयो । चौथो दशकबाट पुनर्गठनको प्रक्रिया सुरु भयो । पाँचौँ दशकमा ठूलो संख्यामा पुनर्गठन पनि भयो । जसका कारण नेपालको कम्युनिस्ट आन्दोलन एक राष्ट्रिय शक्तिका रूपमा उदय पनि भयो । छैटौँ दशकमा केही विभाजन भए पनि सातौँ दशकमा आउँदा अहिले कम्युनिस्ट आन्दोलन एकीकृत भएर आएको छ । यति मात्र होइन अहिले आएर हाम्रो पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जुन एकताको प्रक्रिया अघि बढिरहेको छ । यो एकता प्रक्रिया सम्पन्न भइसक्दा हामी सातौँ दशकमा सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछौँ । र, सातौँ दशक एकताको दशक, अग्रगतिको दशक, प्रगतिको दशक, कम्युनिस्ट आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा देशभक्तिपूर्ण आन्दोलनमा एउटा साँच्ची नै ब्रेक–थ्रो गर्ने दशकका रूपमा यो विकसित हुँदै छ । यसको निम्ति नेपालको कम्युनिस्ट आन्दोलनले जुनखालको भूमिका निर्वाह गरिरहेको छ सिंगो राष्ट्रलाई परिवर्तन, रूपान्तरण गर्ने काममा जुन धेरै महत्वपूर्ण हुन्छ ।

अर्को महत्वपूर्ण कुरा एकता गर्नु वा एकताबद्ध बनाउनु मात्र ठूलो कुरा होइन । खाली संगठनात्मक रूपले एकताबद्ध बनाएर पुग्दैन । पार्टीलाई वैचारिक रूपले एकताबद्ध गर्नसक्नुपर्छ । राजनीतिक रूपले एकताबद्ध गर्नसक्नुपर्छ । सैद्दान्तिक रूपले एकताबद्ध गर्न सक्नुपर्छ । कार्यशैलीगत रूपले एकताबद्ध गर्न सक्नुपर्छ । पद्धतीका, तरिकाका, प्रक्रियाका हिसाबले पनि एकताबद्ध गर्न सक्नुपर्छ । त्यो भएन भने पार्टीमा समस्याहरू आउँछन् । खास गरेर नेकपा एमालेभित्र पनि ती समस्याहरू देखापरेका छन् । कहिले गुटबन्दीका समस्याहरू, कहिले आग्रह पूर्वाग्रहका समस्याहरू छन् ।

विभिन्न घटनाक्रमको अध्ययनका क्रममा पनि हेर्ने दृष्टिकोण फरकफरक हुँदा समस्या आउँछ । अब यस्ता कमीकमजोरीहरूलाई पार्टी एकताभएपछि पूरै धुलो हुनेगरी समाधान गर्नुपर्ने हुन्छ । आफ्ना वा अरूका जसका भए पनि कमिकमजोरीलाई समाप्त पार्नुपर्छ । अनि नयाँपार्टीलाई बिल्कुल विचारधाराका रूपले एकताबद्ध, सैद्दान्तिक रूपले एकताबद्ध र राजनीतिक रूपले पनि एकताबद्ध बनायौँ भने मात्रै कम्युनिस्ट आन्दोलनको भविष्य उज्वल छ । होइन भने, भोलि त्यो संगठनात्मक रूपले मात्र एकताबद्ध बनाएको शक्ति कामविहीन हुनसक्छ ।

हिजो ठुल्ठूला कम्युनिस्ट शक्ति नबनेका होइनन् नेपालमा, तर उनीहरू सधँै एकताबद्ध हुन सकेन । किनभने उनीहरूमा राजनीतिक कार्यदिशा, नीति र सिद्दान्तका आधारमा सम्पूर्ण रूपले वैचारिक एकता कायम गर्न सकिएन । यी कारणले पार्टी विभाजन भएका छन् । विश्वका ठुल्ठूला देशमा पनि कम्युनिस्ट पार्टी विभाजनको कारण यही नै हो । त्यसैले अब हामीले विश्वमा भएको कम्युनिस्ट आन्दोलनको विभाजन, नेपालमै भएको पार्टी विभाजनको पाठबाट शिक्षित भइ नयाँ कार्यदिशा तय गर्नु अत्यावश्यक छ ।

यो एकता प्रक्रिया जसरी अघि बढिरहेको छ, यसमा सबै नेताहरूले सबैलाई कसरी समेट्ने, सबैलाई कसरी एकताबद्ध बनाउने, सबै पक्षमा कसरी एकताबद्ध हुने भन्ने कुरालाई ध्यानमा राखेर काम गर्नुपर्छ । अनिमात्र दीगो, सबल, शक्तिशाली, राष्ट्रव्यापी, जनव्यापी राष्ट्रिय पार्टी बनाउन सक्छौँ । जसले २१औँ शताब्दीको आवश्यकतालाई परिपूर्ति गर्नसक्छ । र, साँचो अर्थमा सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने उद्देश्य प्राप्त गर्न सकिन्छ । अनि देशलाई समाजवादको लक्ष्यतर्फ प्रवाहित गर्न सकिन्छ ।

आन्तरिक कुरामा कसैले केही भन्न मिल्दैन

नेपाल एउटा स्वतन्त्र मुलुक हो । सार्वभौमसत्ता मुलुक हो । यो राष्ट्रिय अखण्डताले युक्तमुलुक छ । हामी संयुक्त राष्ट्र संघका वडापत्रका कुरालाई समेत सम्मान गर्दै सम्पूर्ण अन्तर्राष्ट्रिय अभिसन्धिहरूलाई पनि सम्मान गर्दै हामी यो मुलुकलाई अघि बढाइरहेका छौँ । हाम्रो देशमा कस्तो व्यवस्था चाहिन्छ । हाम्रो देशमा कस्तो खालको राजनीतिक पद्धति आवश्यक छ रु कस्तो खालको निर्वाचन पद्धति हुनुपर्छ रु कसलाई कति संरक्षण दिनुपर्छ रु कसलाई कति आरक्षण दिनुपर्छ वा दिनु पर्दैन । यो सबै नेपाली जनताको नीजि कुरा हो । यो कसैले पनि टिप्पणी गर्नुपर्ने कुरा होइन ।

संसारका कुनै पनि मुलुकलाई नेपालका बारेमा टिप्पणी गर्नुपर्ने अधिकार र आवश्यकता छैन । युरोपियनहरूलाई पनि अधिकार छैन । युरोपियन शक्तिहरूले पाँच सय वर्षसम्म यो दुँनियालाई उपनिवेश बनाएर चलाए । उनीहरूले उपनिवेश मात्र बनाएनन् सत्ताको घोडा नै चढे, दोहन गरे । तर, त्यो युगको अब अन्त्य भयो । सिंगो विश्वव्यापी रूपमा त्यो युगको अन्त्य भएको छ । हिजोका उपनिवेश एसिया, अफ्रिकाहरू, ल्याटिन अमेरिकाहरू अहिले ब्युँझिएका छन् । सारा राष्ट्रहरू अहिले एकतावद्ध भएका छन् । उनीहरू स्वतन्त्र छन् । सार्वभौमसत्ता छन् । उनीहरू आ–आफ्नो विकासको नीति लिएर अघि बढेका छन् । यो वेलामा युरोपियन युनियनले संयमता अपनाएर तेस्रो मुलुकको विकासलाई सहयोग गर्नुपर्छ ।

नेपाल त अझ त्यस्तो देश हो, जहाँ विश्वमै उपनिवेश हाबी भएका बेला पनि यहाँ कुनै उपनिवेश टिक्न सकेन । नेपाल जुझ्यो, नेपालले संघर्ष गर्यो । नेपालले आफ्नो स्वतन्त्रतालाई सधैँभरी बचाएर राख्यो । त्यसकारण म भन्न चाहन्छु । हामीलाई आजको अवस्थामा हाम्रो कुनै पनि आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्ने कोसिस नगरोस् । नेपाल स्वतन्त्र मुलुक छ । हामी हाम्रो विकासको बाटो, हाम्रो क्रान्तिको बाटो हामी आफैँ निर्माण गर्न सक्छौँ । म फेरि पनि भन्छु– कसलाई कति आरक्षण दिनुपर्छ वा दिनु पर्दैन त्यो अरुले सिकाउनु पर्दैन । त्यो नेपाली जनताले नै गर्न सक्छन् । सौर्य दैनिक

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १३:३६