६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नुवाकोटका कम्युनिष्ट अगुवा गणेश पण्डितको ज्यान लिने चमेरे गुफा !


२१ फागुन, काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा रहेको चमेरे गुफाका कारण नुवाकोटको कम्युनिष्ट आन्दोलनका अगुवा अभिभावक गणेश पण्डितको मंगलबार मृत्यु भएको छ । धान्यान्चल महायज्ञमा सहभागी भएर पञ्चकन्या गाउँपालिकाको कविलासस्थित महादेव मन्दिरको चमेरे गुफामा जाने क्रममा पण्डितको ह्रदयघातका कारण निधन भएको हो ।

उकालो लाग्नेक्रममा रिंगटा लाग्यो भनेर असहज महसुस गर्ने बित्तिकै अस्पताल ल्याउनेक्रममा पण्डितको निधन भएको उनको सालो नाता पर्ने नेकपा नुवाकोटका नेता जितेन्द्र विष्टले बताए । बिहान अन्दाजी ११ः३० बजेको समयमा पण्डितको निधन भएको उनले बताए । ह्रदयघात लगत्तै पण्डितलाइ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो तर उनलाइ अस्पतालले मृत घोषित गरिदियो ।

पण्डितको फाइल तस्बीर ।

आइतबार मात्र  पुराना मित्र भरतमोहन अधिकारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा लामो समय बसेर नुवाकोटका नेता कार्यकर्तासँग गफिएका पण्डितको मृत्यु धेरैले पत्याउनै सकेनन् । तर बिडम्बना त्यही चमेरे गुफा पण्डितका लागि काल बन्यो ।

यही गुफा जाँदा पण्डितको निधन भएको थियो ।

पञ्चकन्या गाउँपालिका वडा न। २ मा निर्माण हुने गुरुकुलका लागि रकम संकलन गर्न आयोजित धान्याञ्चल महायज्ञको अन्तिम दिन पण्डित नुवाकोट पुगेका थिए । त्यहाँ पुग्दा गुफा पनि पुग्नुपर्छ भनेर उकालो चढ्दा पण्डितले ज्यान गुमाउन पुगेका छन ।  २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट २ बाट सांसदमा निर्वाचित पण्डित त्यस समयदेखि नै नेकपा एमालेप्रति असन्तुष्ट बनेका थिए ।  ७० वर्षीय पण्डित विसं २०५६ को निर्वाचनमा नुवाकोटबाट तत्कालीन नेकपा ९माले०बाट उम्मेदवार बनेका थिए ।

पण्डितले नुवाकोटको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याका थिए  । पण्डित अहिले पनि नुवाकोट दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर माविका सञ्चालक समितिका अध्यक्ष थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तार भएका थिए ।

कविलासको चमेरो गुफा । जहाँ जानका लागि गणेश पण्डित बाटोमा थिए । तस्बीरमा नेपाली कांग्रेसका नेता रमेश महत लगायत गुफामा फोटो खिचाउँदै ।

झण्डै आठ महिना प्रहरी हिरासतमा बसेका उनी तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उहाँ नुवाकोटबाट उम्मेवार बनेका थिए । पछिल्लो  काठमाडौँमा बस्दै आएका पण्डितका तीन छोरा छन । जेठो राजकुमार पण्डित, जापान, माइलो किशोर पण्डित, अमेरिका र कान्छो दिनेश पण्डित नेपालमै रहेका छन । पण्डितका तीन छोरी र श्रीमति रहेकी छिन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार २२:०८