१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भेनेजुएलाको कारागारमा झडप र आगलागीमा परी ६८ जनाको मृत्यु


१५ चैत, काठमाडौँ । भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ ।

उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ ।

केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

भेनेजुएलाका एकजना प्रमुख सरकारी वकिल तारेक साबले यस अकस्मातको दुर्घटनाको छानबिनका लागि समिति बनाइएको बताउनुभएको छ ।

खचाखच बन्दीहरु राखिएको सो बन्दीगृहभित्र अकस्मात दंगा फैलिन पुगेको र त्यसका कारण थुनुवाहरू भाग्न खोजेका थिए । त्यस क्रममा उनीहरुले उक्त गृहमा राखिएका विछ्यौनाहरुमा आगो लगाएका थिए ।
त्यसपछि आगलागी शुरू भएको प्रहरी अनुसन्धानको पछिल्लो विवरणमा जनाइएको छ । थुनुवाहरुलाई भेट्न गएका आफन्तहरुले पनि आगोका कारण धेरैका ज्यान गएको बताएका छन् ।

यस झडप र आगलागीको खबरपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा थुनुवालाई भेट्न पुगेका उनीहरुका आफन्त पनि परेका बताइएको छ ।

प्रहरीले उनीहरुलाई सो दुर्घटनास्थलबाट हटाउन खोजेको भए पनि थुनुवा र प्रहरीको भिडन्तको बीचमा उनीहरु परेका थिए । प्रहरीले त्यस क्रममा अश्रु ग्यास प्रहार गरेको र बल समेत प्रयोग गरेको थियो ।

उक्त बन्दीगृह काराबोबो राज्यमा पर्दछ । सो राज्यका एक सरकारी अधिकारीले जानकारी दिए अनुसार आगलागीको घटनापछि थप प्रहरी परिचालन गरिएको र त्यसपछि झनै ठूलो दंगा भएको थियो ।

त्यस क्रममा कारागारभित्र भने धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला र बालबालिका परेका छन् ।

भेनेजुएलाका बन्दीगृहमा क्षमताभन्दा पनि बढी कैदीहरु राख्ने गरिन्छ । जसका कारण यहाँका कारागारहरुमा यस्ता हिंसात्मक झडपहरू समय समयमा हुने गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १९:०१