१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे


१५ चैत, नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भएका आर्थिक अनियमितता छानविनको माग राखेर आमरण अनशन शुरु गरेका सँस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठले अनशन तोडेका छन ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको राजीनामा तथा क्याम्पसमा भएका आर्थिक अनियमितता र गत शुक्रबार भएको तोडफोड घटनाको दोषीलाई कारबाहीको मागको सम्बोधन गर्न छानविन समिति गठन भएपछि उनले अनशन तोड्न सहमति जनाएका हुन ।

त्रियासी वर्षीय सँस्थापक अध्यक्षले राखेको मागअनुसार क्याम्पस सञ्चालक समितिका सदस्य लीलानाथ न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिमा क्याम्पस सञ्चालक समितिका सदस्य नारायणलाल श्रेष्ठ, गोपालमान श्रेष्ठ, विष्णुबहादुर आचार्य र पुष्पराज श्रेष्ठ सदस्य रहेका छन् । समितिलाई छानविन गरी प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले एकपक्षीय रुपमा अनियमितता गर्दै शैक्षिक संस्था सञ्चालन गर्न थालेको भन्दै अनेरास्ववियू, अखिल(क्रान्तिकारी) लगायत विद्यार्थी संगठनले गत शुक्रबार क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा ताला लगाउँदै तोडफोडसमेत गरेका थिए ।

विद्यार्थी संगठनले अध्यक्षले आवश्यक कर्मचारीभन्दा बढी कर्मचारी नियुक्त गरेको, क्षमतावान् शिक्षक नभएको, प्राध्यापकहरूको शैक्षिक योग्यता प्रमाणपत्र सार्वजनिक गर्नुपर्ने, नियमित कक्षा अनुगमन गरी शैक्षिक सुधारमा ध्यान दिनुपर्ने, छात्रवृत्ति वितरण पारदर्शी हुनुपर्ने एवं तत्कालै स्ववियू निर्वाचन तोक्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार ०५:५०