७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

टानद्वारा पाेखरामा ‘पोर्टर गाइड’ तालीम सञ्चालन 


८ फागुन, पोखरा । ट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन गरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गण्डकी प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालित ६१ घण्टे तालीममा देशका विभिन्न जिल्लाबाट २०० प्रशिक्षार्थी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालीम लिनेमा झण्डै ८५ प्रतिशत विगत २०÷२५ वर्षदेखि नै पदयात्रा पर्यटन क्षेत्रमा काम गर्दै आएका हुनुहुन्छ । विभिन्न विदेशी राष्ट्रबाट आउने पर्यटकबाट ‘पोर्टर गाईड’को ‘लाइसेन्स’ भएका व्यक्तिको माग हुन थालेसँगै यस किसिमको तालीममा आकर्षण बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

पदयात्रामा जाने पर्यटकका लागि भूगोल, वनस्पतिको पहिचानका साथै भाषा, संस्कृतिलगायतका विविध पक्षमा जानकारी भएका पोर्टर गाइड आवश्यक हुने अवस्थालाई दृष्टिगत गरी प्रशिक्षकको व्यवस्था गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछाने, प्रबन्धक सूर्य थपलियासहित विभिन्न क्षेत्रसम्बद्ध १८ विज्ञबाट तालीम प्रदान गरिएको अध्यक्ष भुजेलले बताउनुभयो । यही फागुन ६ गतेदेखि शुरु तालीम १५ गते सकिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार १८:५१