१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मिडियामा चर्चा कमाउन गाउँपालिकाका अध्यक्ष खड्काले यतिसम्म गरे


४ फागुन, अछाम । बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले मिडियामा चर्चा कमाउन बिभिन्न प्रपन्च रचेको खुलासा भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको दोस्रो गाउँ सभाले अध्यक्ष खड्काको सेवा सुविधाकालागी गाडि खरिद गर्न १ करोड बिनियोजन गरेकोमा गाउँपालिका अध्यक्ष खड्काले बिकास निर्माणका काम प्रभावकारी नहुने जनाउदै गाडि खरिद नगर्ने निर्णय गरेपछि उनको सर्वत्र चर्चा भएको थियो । तर, गाडि खरिद नगर्ने खड्काको निर्णय पछाडिको बास्तबिकता भने फरक भेटिएको छ ।

गाउँपालिका अध्यक्ष खड्काले आफुले चाहे अनुसारको गाडि खरिद गर्न प्राविधिक समस्या देखिए पछि जनता बिच लोक प्रिय बन्नकैलागी बिकास निर्माणका काम प्रभावित हुने वाहाना देखाउदै गाडि खरिदका लागी बिनियोजीत रकम बिकास निर्माणमा खर्च गर्ने उद्धघोष गरेको खुलासा भएको हो । बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काकै निर्देशनमा गाउपालिकाले नया पत्रिका राष्टिय दैनिकमा सवारी साधन खरिद गर्न बोल पत्र आह्वान गर्दै बिज्ञापन प्रकाशित गरेको थियो ।

पत्रिकामा सवारी साधन खरिदका लागी बोलपत्र आह्वान गरेको अन्तिम मिति पुग्न नपाउदै गाउँपालिका अध्यक्ष खड्काकै निर्देशनमा गाउँपालिकाले फेरी अर्को सुचना प्रकाशित गरि सवारी साधन खरिद गर्ने निर्णय स्थगीत गरेको सुचना प्रकाशित गर्न लगाएका थिए । सवारी साधान खरिद गर्ने र स्थगीत गरिएको सुचना प्रकाशनमा मात्रै करिव २ लाख खर्च भएको गाउँपालिकाका सम्बन्धित कर्मचारी बताउछन ।

अर्को रोचक कुरा त के छ भने सवारी साधन खरिद गर्नका लागी सुचना जारी गरे सँगै सवारी साधनबारे बिड डकुमेन्ट गाउँपालिकाले तयार गर्नुपर्छ र सोहि बिड डकुमेन्टका आधारमा सवारी कम्पनिहरुले आफ्नो सवारी साधन र सवारी साधनको मुल्यका बिषयमा दर्खास्त पेश गर्ने गर्दछन यसै क्रममा अध्यक्ष खड्काको चाहाना अनुसारको गाडि खरिद गर्न बिड डकुमेन्टको सिमा क्षेत्र फरक परे सँगै गाउँपालिका अध्यक्ष खड्का कर्मचारी देखि निकै आक्रोशित भएका थिए ।

तयार भईसकेको बिड डकुमेन्ट अध्यक्ष खड्काले चाहेको सवारी कम्पनी बाहेकको एक अर्को सवारी कम्पनीले खरिद गरिसके पछि अध्यक्ष खड्कालाई झन ठुलो समस्या परेको र आफुले खरिद गर्न चाहेको गाडि खरिद गर्न असम्भव भए सँगै उनले जनताका माझमा लोकप्रियता कमाउन गाडि खरिद गर्ने निर्णय रद्ध गरेको गाउँपालिका निकट स्रोतले बताएको छ ।

आफुले चाहे अनुसारको गाडी खरिद गर्न बिड डकुमेन्ट तयार गर्दा त्रुटि भए सँगै गाउँपालिका अध्यक्ष खड्काले सवारी साधन खरिदको निर्णय रद्ध गर्न गाउँकार्यपालिकाको बैठक बोलाएका थिए । स्थानिय सरकार सँचालन ऐन अन्तरगत कार्यपालिका बैठक सँचालन गर्न कम्तिमा ३ दिन अगाडि बैठकका ऐजेण्डा सहित कार्यपालिका सदस्यलाई जानकारी गराउनु पर्ने प्रावधान रहे पनि गाउँपालिका अध्यक्ष खड्काले भने भोलीको बैठकका लागी आज साझ मात्रै सुचना गरि पछिल्लो दिन कार्यपालिका बैठक बोलाएका थिए ।

गाउँपालिका उपाध्यक्ष लोक बहादुर साँउद जिल्ला बाहिर कामको शिलशिलामा हिडेकै दिनको साँझ मात्रै अध्यक्ष खड्काले बैठकबारे सुचना गर्न लगाएकोमा उपाध्यक्ष साउँदले भने बैठक गर्न नहुने बताएका थिए । तर अध्यक्ष खड्काले कार्यपालिका बैठक बोलाएर सवारी साधन खरिद गर्ने निर्णय गरेका थिए र उनले सवारी साधन खरिद गर्दा बिकास निर्माणका काम प्रभावित हुने हुदा सवारी साधन खरिद गर्ने निर्णण रद्ध गरिएको भ्रम छरेका थिए । अध्यक्ष निकट केहि सँचारमाध्यमले अध्यक्ष खड्काले गरेको निर्णयलाई प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार २२:०६