११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रदेश नं ३ अन्तर्गतको राजस्व कार्यालय मकवानपुरले छ महिनामा दुई अर्ब उठायो


३ फागुन, हेटौँडा । प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ ।

सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व असुली गरेको छ । यसैगरी आयकरतर्फ रु ४२ करोड चार लाख २५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३२ करोड ९८ लाख ९३ हजार, ब्याज करतर्फ रु २५ लाख ५२ हजार ४००, घर बहालतर्फ रु १५ लाख ९३ हजार असुली भएको छ ।

स्वास्थ्य करतर्फ रु १० लाख १३ हजार ४०० र शिक्षा करतर्फ रु १८ लाख ९७ हजार राजश्व असुली गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी (चुरोट) उद्योग प्रालिले सबैभन्दा बढी राजश्व रु ६१ करोड ९० लाख र एशियन पेन्ट्स प्रालिले रु २६ करोड ९१ लाख राजश्व बुझाएको छ ।

यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट रु २२ करोड ९३ लाख, युनिलिभर प्रालिबाट रु ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट रु आठ करोड सात लाख राजश्व प्राप्त भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये रु ८९ करोड ६० लाख राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ०९:२८