१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

“जनयुद्ध” दिवस बाध्यात्मक ऐंठनका रूपमा थाेपरिनु उचित हाे त ?


–सूर्य थापा 

जनयुद्ध दिवस-सहिद दिवस वा जनआन्दाेलन दिवस मनाइएजस्ताे हाेइन । आमूल परिवर्तनकाे प्रक्रियामा २०५२-२०६२ काे अवधिमा संचालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियाे कि थिएन ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन् । १७ हजार नेपालीका लागि याे मृत्यु बनेर आयाे । त्यसैले उनीहरूका लागि याे जनयुद्ध नभएर काल पाे बनिदियाे ! देशकाे खर्बाैखर्बका भाैतिक संरचना ध्वस्त पारियाे र नयाँ निर्माण हुन दिइएन । फलतः देश नै ५० बर्ष पछाडि धकेलिन पुग्याे । यस हिसाबले याे जनयुद्ध नभएर नेपालकाे सर्वविनाश थियाे । नेपाली राजनीतिमा याे हिंसाकाे अर्काे प्रयाेग अवश्य थियाे, २००७ र २०२८ सालजस्तै । तथापि विभिन्न कालखण्डमा देशभित्र र बाहिरका अाफैले प्रमुख दुश्मन घाेषित गरेका पक्षहरूले पनि यसलाई सघाए, किन ? यस्ता धेरै प्रश्नहरू अनुत्तरित नै छन् ।

तस्बिरः खारा आगजनीपश्चात आयोजित शान्ति पदयात्रा ।

“जनयुद्ध” सफलता वा विजयमा टुंगिएकाे नभएर संझाैता र शान्तिपूर्ण अवतरणमा टुंगिएको विदितै छ । यस प्रक्रियामा राष्ट्रकाे २० खर्बभन्दा बढी रकम खर्चिनुपरेकाे जगजाहेर छ । संविधानसभा, लाेकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनयुद्धका घाेषित लक्ष थिएनन् । यी त समयक्रममा थपिएका वा स्वीकारिएका सशस्त्र हिंसाकाे अवतरणका माध्यम, निकास वा सहउत्पादन मात्रै बन्न पुगेकाे स्पष्टै छ ।

यथार्थमा “जनयुद्ध” कुति पुग्न थालिएकाे थियाे, दश बर्षकाे संचालनमा काशी(बनारस) पुगेर समापन भयाे । जबकि “जनयुद्ध”काे घाेषित लक्ष नाैलाे जनवादकाे स्थापना गर्ने थियाे । चीनियाँ जनयुद्ध तियान मेन स्क्वायरमा क्रान्तिकाे सफलतामा टुंगिएकाेजस्ताे यहाँ भएकाे त किमार्थ हाेइन, ताकि हरेक बर्ष जनयुद्ध दिवस मनाइयाेस् वा मनाउन पराेस् ! याे स्वयंमा पेरू, थाइल्याण्ड, मलेसिया र नक्सलवाडी आन्दाेलनमा जस्तै असफल र सर्वविनाश नहाेस् भनेर शान्तिपूर्ण र प्रतिस्पर्धात्मक बाटाेमा फर्काउँदै घुमिफिरी रूम्जाटार भनेजस्ताे नजिते पनि र नहारे पनि वा पराजयकाे घाेषणा नगरेरै अवतरण भयाे र गरियाे । बरू यसकाे माैलिकता याे रहन पुग्याे !!

नेपालमा भएका विगत परिवर्तनमा जनयुद्धकाे उल्लेखनीय याेगदान अवश्य छ, जसलाई आत्मसात् गरिएकाे छ । खासमा २४० बर्ष पुरानाे राजतन्त्रकाे उन्मूलन तत्कालीन सात राजनीतिक दलकाे बुँतामा मात्रै संभव भएकाे हाेइन । संविधानसभा, संघीयता, धर्मनिरपेक्षता र लाेकतान्त्रिक गणतन्त्र त न सात दलका न त माओवादी जनयुद्धका आफ्नै र माैलिक एजेन्डा नै थिए, बरू राजनीतिक निकासकाे खाेजी गर्ने सिलसिलामा दुबै पक्षकाे साझा मिलनबिन्दु बन्नचाहिँ आइपुगेका थिए वा ल्याइएका थिए !!!

२०७५ साल जेठ ३ गतेकाे पार्टी एकताका क्रममा विगत संघर्षहरूकाे सकारात्मक याेगदान स्वीकारिएकै छ । तर जनयुद्ध थालनीकाे दिनलाई सहिद दिवस वा जनयुद्ध दिवसका रूपमा मनाउने निर्देशन छापामार शैलीमा किन आयाे ? किन यसाे गर्न मन लाग्याे ?

“जनयुद्ध” मा चाेखाे मनले लागेर लडेका, बलिदान दिएका, आफन्त गुमाएका, प्रियजन बेपत्ता पारिएका, अंगभंग बनेका, सम्पत्ति र अस्मिता लुटिएका, अपहरण र विस्थापित गरिएका, अनि जीवन र परिवार नै तबाह पारेका एवं मृत्युलाई जितेर नाफाकाे जिन्दगी बाँचिरहेका सबैसबैप्रति उच्च सम्मान छ र त्यसाे गर्नैपर्छ । “जनयुद्ध”काे जगमा टेकेर उभिंदै युद्ध कालमा लुटपाट मच्चाएका, देश र जनताकाे हाेइन, आफ्नाे, परिवार र आसेपासेकाे वर्गाेत्थान गरेका एवं व्यक्तिगत जीवनमा साम्यवाद नै हासिल गरिसकेर समाजमा “राता मण्डले”जस्ताे बदनाम हुन पुगेका कतिपय व्यक्तिहरूकाे सम्बन्धमा त के भन्नु र खाेई ? याे तिनीहरूका लागि भने सच्चा जनयुद्ध बनिदियाे । शान्ति प्रक्रियाका बाँकी काम सत्य निरूपण र मेलमिलाप आयाेगमार्फत अविलम्ब पूरा गरी सशस्त्र हिंसाका छायाँ/ प्रतिछायाँसहित याे विगतलाई सबैले अब बिर्सन दिनुपर्दछ । यसका सकारात्मक उपलब्धिहरू त संस्थागत गरिएकै छ ।

युद्ध लडेकाहरूले नकारात्मक अनुभवलाई पनि सकारात्मक भनेर महिमागान गर्ने, संस्मरण लेख्ने, तस्बिरहरू छाप्ने गर्न मिलिहाल्छ, त्यसाे गर्ने अधिकार छँदैछ । तर हामीजस्ता त्यस “जनयुद्ध”काे ऐतिहासिक अपरिहार्यता नै थियाे भनेर मान्न नसकेका र सन् १९७५ पछि संसारभर सशस्त्र संघर्षबाट कुनै देशमा पनि क्रान्ति सफल भएकाे छैन भनिकन हिंसाकाे निरर्थकताकाे पैरवी गर्नेहरूलाई “जनयुद्ध” दिवस बाध्यात्मक ऐंठनका रूपमा थाेपरिनु उचित हाे त ? के याे पार्टी एकताकाे उपहार हाे ? बहस छलफल चलाएर निचाेडमा पुग्न आवश्यक भयाे ।???!!!

(लेखकः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन ।)

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार ०८:२७