१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

महासचिव भएपछि प्रियंका पहिलो सार्वजनिक कार्यक्रममा


२८ माघ, काठमाडाैँ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेबारीसहित केहीदिन अगाडि महासचिवमा नियुक्त हुनुभएकी गान्धीले सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक ¥यालीमा सहभागी हुनु भएको हो ।

बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले ¥याली अवधिभरी नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए । कार्यक्रममा उहाँका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरुपनि सहभागी भएका थिए ।

लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार हात उठाएर बाटो बरीपरी उपस्थित शुभचिन्तकलाई अभिवादन गर्नुभएको थियो । उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी हुनुभएकी ४७ बर्षीया गान्धीलाई उहाँका श्रीमान्ले पनि “नयाँ यात्रा”का लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

श्रीमान रोबर्ट भद्राले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरोलागि सवै भन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेबार आमा पनि हो ।”

“जनताको सेवा गर्न प्रियंकालाई सफलता मिल्नेछ र त्यसका लागि हामी सवैले साथ र सहयोग गर्नुपर्दछ, म त्यसका लागि आग्रह गर्दछु” उहाँले फेसबुकमा लेख्नुभएको छ । राजनीतिमा प्रियंकाको प्रवेशलाई आसन्न निर्वाचनबाट पार्टीलाई फेरी सत्तामा पु¥याउने बलियो कडीका रुपमा व्याख्या गरिएको छ ।

लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ । झण्डै २० वर्ष पार्टीको नेतृत्व गर्नु भएकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गर्नु भएको थियो भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गर्नु भएको हो । रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार २३:४२