Logo

रम्भा गाउँपालिकाले बालविवाह गर्नेलाई सेवासुविधा नदिने



२८ माघ, रामपुर ।  पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये बालविवाह गर्नेलाई सेवासुविधा नदिने भएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा सानै उमेरमा विवाह गर्नेहरु बढ्न थालेपछि यस्तो निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।

सानै उमेरमा विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउने भएकाले यसको न्यूनीकरणका निम्ति गाउँपालिकाले अभियान जारी राखेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । बाक्लो मगर बस्ती रहेको रम्भा गाउँपालिकाका वडा नं २ फोक्सिङ्कोट र ३ को पीपलडाँडामा बालविवाह गर्नेहरु बढिरहेको गाउँपालिकाले जनाएको छ ।

 

कम उमेरमै विवाह गर्दा र कम उमेरमा शिशु जन्माउँदा विशेष गरी शिशु र आमाको स्वास्थ्य अवस्था कमजोर हुने र कतिपय अवस्थामा शिशु र आमाको ज्यानैसमेत जान सक्नेतर्फ गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

गाउँपालिकाभित्र अहिले विशेष गरी १४ देखि १७ वर्ष उमेर समूहमै बिहे गर्नेहरु बढेकालुे गाउँपालिकाले बालविवाह रोक्ने पहल गरेको हो । गाउँपालिकाले कम उमेरमा विवाह गर्नेलाई विवाह दर्तासमेत रोकेको छ । गाउँपालिकाका अध्यक्ष भण्डारीले विवाह दर्ता गर्न आउने युवती तथा युवकलाई छुट्टयाइदिएर उमेर पुगेपछि विवाह गर्न सल्लाहसमेत दिई पठाउने गरिएको जानकारी दिनुभयो । बालविवाहमुक्त वडासँगै छुवाछूतमुक्त वडाका बनाउनका लागि कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमका लागि रु चार लाख रुपैँय विनियोजन गरिएको अध्यक्ष भण्डारीको भनाइ छ

प्रतिक्रिया दिनुहोस्