१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पर्यटन प्रर्वद्धन गर्न साइकल यात्रा


१९ माघ, बाँके ।  पश्चिम नेपालमा पहिलो पटक ‘साइकल यात्रा’ शुरु भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा ‘सद्भाव डटकम टुर दी ठाकुरद्धारा– २०७५’ नाम राखिएको साइकल यात्रा शुक्रबार शुरु भएको हो ।

फाइल फाेटाे

साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा ७७ वटै जिल्ला घुमेका साइकलयात्री तेजप्रसाद पराजुली, मेची– महाकाली साइकलयात्री रेशम केसी, झापाका ओम बानियाँ, एउटा खुट्टाले कैलालीदेखि रारासम्मको यात्रा गर्नुभएका प्यारा साइक्लिष्ट यामलाल रसाइली, काठमाडौँका प्यारा साइक्लिष्ट युवक लामा, सबैभन्दा वृद्ध अष्ट्रेलियन साइक्लिष्ट निल, चार महिलासहित ४२ जना सहभागी छन् ।

सद्भाव डटकम टुर दी ठाकुरद्धाराका कार्यक्रम संयोजक सतिष निरौलाका अनुसार साइकल यात्राका क्रममा पर्यापर्यटन मञ्चले ठाकुरद्धारा, डल्ला घरबास, ठाकुरबाबा मन्दिरलगायत पर्यटकीयस्थलबारे साइकलयात्रीलाई जानकारी गराउने छन् । वातावरणमैत्री र मानव स्वास्थ्यका हिसाबले यो यात्रा धेरै आवश्यक रहेको उहाँको भनाइ थियो ।

“साइक्लिङबाट पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ, साइकल सबैका लागि आवश्यक छ भन्ने सन्देश पनि दिने यो कार्यक्रमको अर्को उद्देश्य हो”, उहाँले भन्नुभयोे । नेपालगञ्जको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरबाट शुरु भएको साइकल यात्रा शुक्रबार पहिलो दिन कोहलपुर, बर्दियाको बाँसगढी, भुरीगाउँ हुँदै ठाकुरद्वारा पुगेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार १०:२१