१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पर्यटनसँग सम्बन्धित १२ संस्थाले भने ‘वाइड बडीमा षडयन्त्र गरी निगम कमजोर बनाउने खेल भो’


१८ माघ, काठमाडाैँ । पर्यटनसँग सम्बन्धित १२ संस्थाले एकै स्वारमा वाइड बडी विमानमा षडयन्त्र गरी नेपाल वायुसेवा निगम कमजोर बनाउने खेल भएको अारोप लगाएका छन । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संस्थाहरूले  निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने १२ मध्येको एक नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्ययक्ष सिएन पाण्डेका अनुसार पर्यटन प्रवर्द्धनार्थ निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरिदिन सम्बन्धित निकायलाई अपिल गरेको बताए । उनले लामो समयदेखि जहाजको आवश्यकता महशुस गरिरहेका पर्यटन क्षेत्रसँग सरोकार राख्ने सङ्घ, सङ्गठन तथा व्यवसायीको लागि जहाज आउने तथा सञ्चालनमा ल्याइने कुराले निकै खुशी र उत्साहीत भएको तर वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलताले गम्भीर बनाएको बताए ।

पर्यटन क्षेत्रका १२ संस्थाका प्रमुखले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै ध्वजावाहक वाइड बडी खरीद प्रकरणमा देखिएका समस्याले सम्पूर्ण पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको छ । भ्रमण वर्षलाई असफल बनाउन र निगमलाई कमजोर बनाउन गरिएको सो खालको षड्यन्त्र र अवरोध पर्यटन व्यवसायीलाई स्वीकार्य हुँदैन् ।’

विज्ञप्ति सार्वजनिक गर्ने संस्थामा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट, नेपाल पर्वतारोहण सङ्घ, होटल एशोसिएशन अफ नेपाल, प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टर, हिमालय उद्धार सङ्घ, गाउँ पर्यटन प्रवर्द्धन मञ्च, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घलगायत छन् ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार २२:४६