१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विश्वव्यापीरूपमा सुनको मागमा चार प्रतिशत वृद्धि


१८ माघ, काठमाडाैँ । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो ।

सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको डब्लुजीसीले रिपोर्टमा उल्लेख गरेको छ ।

हरेक मुलुकको केन्द्रीय बैंकद्वारा हुने सुनको खरिदमा अघिल्ला बर्षको तुलनामा सन् २०१८ मा ७४ प्रतिशतले वृद्धि भई जम्मा ६५१.५ टन पुगेको छ । यो आर्थिक बर्षमा सुनको कारोबारमा अहिलेसम्मकै दोस्रो धेरै खरिदविक्री भएको प्रतिवेदनमा उल्लेख छ ।

गत बर्षमा गहनाका लागि दुई हजार २०० टन सुनको माग रहेको थियो यो अघिल्लो बर्षको तुलनामा सामान्य वृद्धि हो । सुनको सिक्का र बारहरूको लागि सुनको मागमा पनि चार प्रतिशतको वृद्धि आई गत बर्ष जम्मा एक हजार ९० टन पुगेको छ ।

सुनमा आधारित विनिमय व्यापार कोष तथा अन्य उत्पादनमा भने सुनको मागमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा ६७ प्रतिशतले कमी आउँदा यस शीर्षकका लागि जम्मा ६८.९ टन माग देखिएको छ ।

गत बर्ष प्रविधि क्षेत्रमा ३३४.६ टन सुनको प्रयोग भएको छ, जुन अघिल्लो बर्षको तुलनामा जम्मा एक प्रतिशत बढी हो । स्मार्ट फोनको विक्रीमा देखिएको मन्दीका कारण प्रविधि क्षेत्रमा सुनको प्रयोगमा कमी आएको डब्लुजीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ०७:३०