१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘शत्रु गते’ मनोरञ्जनका लागि राम्रो फिल्म


–समीर बलामी

पछिल्लो समय सबै भन्दा अपेक्षा गरिएको फिल्म हो शत्रु गते । फिल्मका जम्बो टिम, निर्माण पक्ष, कलाकार र निर्देशकले गर्दा फिल्मप्रतिको अपेक्षा बढ्नु स्वभाविक नै हो । फिल्मको नाम शत्रु गते तय गरिएको छ । विषयवस्तुको आधारमा शत्रुगते नाममा आंशका रहन सक्ला तर फिल्म पूर्ण मनोरञ्जनात्मक भएकाले नाम प्रति सायदै कोही दर्शकको बिमती नहोला ।

शत्रु गते बोलीचालीमा नआउने र हत्तनपत्त व्याकरणमा नभेटिने शब्द पनि हो । कुनै पनि मानिसलाई जहिले पनि कुनै न कुनै नराम्रो काम र साथले छोडिएन भने शत्रु गते लाग्यो भन्नेहरु केही न्युन रुपमा बाँकी छन् नेपाली समाजमा । फिल्म शत्रु गते हर प्रकारले दर्शक हसाउन बनेको फिल्म हो । केही समयानुकुल अवस्थालाई चित्रण गरिएको छ भने केही अपत्यारिला कुराहरुलाई पनि जोड दिईएको छ, तसर्थ पनि कमेडी जनरामा शत्रु गते बनेको छ । फिल्म शत्रु गतेले केही आधुनिक समाजका समस्याहरुलाई पनि उजागर गर्न खोजिएको छ । आफन्त र छिमेकी बीचमा देखिने आन्तरिक द्धुन्दलाई पनि समेट्न खोजिएको छ । अन्तत मित्र गते सम्म हसाउन खोज्ने फिल्म बनेको छ शत्रु गते । एक वाक्यमा भनुपर्दा शत्रु–शत्रु बीचमा मिल्ने र हाँस्ने दिन नआए सम्मको यात्रा हो शत्रु गते ।

आफ्नो मर्यादामा रमाईरहेको सोझो गोपाल शर्मा(हरिवंश आचार्य) को छोरा हो सुरज शर्मा(पल शाह) । गोपाल शर्माकै छिमेकी हुन् मन्त्री भईसकेका नेता रघुपती । उनी नेता भएको कारण भ्रष्टचारमा तल्लिन भएका हुँदा उनका व्यवहार गोपाल शर्मालाई मन पर्दैन । तर रघुपतीका छोरी सन्ध्या(आँचल शर्मा) र गोपाल शर्माका छोरा सुरजबीच प्रेम सम्बन्ध हुन्छ । दुबैको प्रेम सम्बन्ध भएपछि परिवारबीच कुरा मिलाई विवाह गर्ने निर्णयका साथ कुराकानी अघि बढ्छ । गोपाल शर्माका श्रीमती दिपा(दिपाश्री निरौला) लाई पनि सम्बन्ध मञ्जुर छ । तर गोपाल शर्मालाई रघुलाई आफ्नो सम्धी बनाउँन मन छैन । विहे रोक्ने केही प्रयास गोपालले गरेपनि अन्तत असफल हुन्छ ।

सुरज र सन्ध्या बीच बिहेको निर्णय टुङ्गो लाग्छ, १७ गते । प्रहरी ईन्पेक्टर शितल (प्रियंका कार्की) की श्रीमान् उर्फ युट्युवर राहुल(दिपक राज गिरी) दिनरात युट्युबबाट पैसा कमाउने दाउमा हुन्छ । युट्युवमा विभिन्न भिडियोहरु राख्ने क्रममा छिमेकी छिमेकी बिचमा मन मुटाव आउने खालका सुरज र सन्ध्याको परिवारको भिडियोहरु पनि युट्युबमा राख्छन् । जसले गर्दा दुई परिवारबीच सम्बन्ध तोडिन्छ । दुई परिवारमा मात्र नभई पुरै कोलोनी भित्र सनसनी मच्चाउने खालका गतिविधी गर्ने राहुल सबैको लागि तनावको पात्र बन्छ ।

राहुलको द्धैचरित्रका कारण रघुपतीको पर्दाफास हुन्छ र त्यसको दोष गोपाल शर्मालाई दिदै आफ्नो छोरीको विहे अर्को महिनाको १७ गते अर्कैसँग गरिदिने रघुपतीको निर्णयबाट फिल्मले मोड लिन्छ । सन्ध्यालाई नपाए मर्ने धम्की दिएका छोरा सुरजका कारण गोपाल शर्माले कुनै पनि हालतमा सन्ध्या नै बिहे गरिदिने बचन दिन्छ । अर्को महिनाको १७ गते सन्ध्याको विहे हुन्छ की हुदैन ? को सँग हुन्छ ? सुरजले सन्ध्या पाउँछ की पाउँदैन ? र राहुलले अरु के–के गर्छ ? भन्ने प्रश्न वरपर शत्रु गते घुमेको छ ।

फिल्मका हिरो अर्थात मूख्य पात्र हुन् दिपक राज गिरी । त्यससँसै अर्का हिरो हुन् हरिवंश आचार्य । शत्रु गते सफल भएमा कसैले जस पाए सबै भन्दा बढि निर्देशक पछि दिपक राज गिरी र हरिवंश आचार्य हुन् । दुबै भुमिकाले दर्शकको ध्यान खिचेका छन् । हरिवंशको प्रस्तुती र अभिनयले दर्शकहरुलाई हसाउनुका सथै फिल्मको अन्त्यसम्म ध्यान खिच्नेछ । यस्तै श्रीमतीलाई एउटा घर किनेर राख्ने सपनाका साथ युट्युबर बनेका दिपराज गिरीले पनि दर्शकलाई होल्ड गर्न सफल भएको छ ।

कमेडी जनरामा बनेको फिल्म भएका कारण फिल्मका संवादहरु केमडी नै देखिन्छ । किनकी प्रत्येक संवादमा दर्शकहरुले मनोरञ्जन प्राप्त गर्नेछ । फिल्ममा यति धेरै कलाकारहरुलाई उतार्नु र सबैको लिंकअप अन्तिम सम्म जोडेर लानुले निर्देशकी पाटो बलियो भएको प्रमाण पेश गर्छ । यस्तै कुनै बेला फिल्मको कथा ट्रयाक बाहिर जान लागेको होकी भन्ने अनुमान गर्न नपाउँदै ट्रयाकमै लगेर पूर्ण मनोरञ्जनको क्लाईमेक्स दिनु निर्देशकको अर्को बलियो पक्ष हो । सबै कलाकारको भुमिका उतिकै राम्रो छन् ।

भलै शत्रु गतेबाट पल शाह र प्रियंका कार्कीलाई संख्यात्मक रुपमा बाहेक गुनात्मक रुपमा केही फाईदा नहोला । फिल्मको शुरुवाटदेखी शत्रु गते हेर्दै हाँसिरहेका दर्शक केही ईमोशनल सिनमा पनि हाँसिरहन्छन् । फिल्ममा ट्राभल्स एजेन्सी एजेन्ट अर्थात पैसाको लोभमा लमी बनेका शिवहरी पौडेल र उनकी श्रीमती बीचको सम्बन्ध लामो रुपमा खासै देखाउनु पर्ने आवश्यकता देखिदैन । ईनपेक्टर श्रीमती भएको श्रीमान्ले डन गिरी छोडेर युट्युबर भई घर बनाउन खोजेको सन्दर्भ अपत्यारिलो लाग्छ ।

ईन्सपेक्टर शितलले आफ्नो श्रीमान् साईबर क्राईममा पक्राउ पर्दा केरकार गरेको दृष्य अस्वभाविक देखिएको छ । फिल्ममा रहेको गीत संगीतका पक्ष निकै बलियो छ तर मध्यान्तर अगाडी आउने पिरतीको बर्को बोलको गीतसँग सिनको लिंकअप देखिदैन । मध्यान्तर अगाडीसम्म फिल्मले लगातार दर्शकलाई हसाईराख्छ ।

तर मध्यान्तर पछाडी केही समय फिल्मको कथाले ट्र्याक चेन्ज गरेको जस्तो लाग्छ अन्तत पूर्ण मनोरञ्जन सहितको बलियो क्लाईमेक्समा फिल्म प्रवेश गर्छ । फिल्मको मूख्य आकर्षन नै क्लाईमेक्स हो । जुन शत्रु गतेबाट परिणत मित्रगतेको शुरुवाट हो । शत्रु गतेबाट हसाउन शुरु गरेको फिल्मले मित्र गते सम्म हसाई राख्छ । यसर्थ समग्रमा हसाउन सफल भएको फिल्म हो शत्रुगते । मनोरञ्जनको हिसाबले राम्रो फिल्म बनेको छ शत्रु गते ।

फिल्म : शत्रुगते
निर्देशक : प्रदिप भट्टराई
ब्यानर : मह संचार
जनरा : कमेडी
कलाकारहरु : हरिवंश आचार्य, दिपकराज गिरी, पल शाह, आँचल शर्मा आदी
रेटिङ : ३/५

–फिल्मी फण्डाबाट

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १४:५१