१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

उत्तर कोरिया संसारकै लागि त्रासः अमेरिकी पूर्व राष्ट्रपति ओबामा


११ चैत, काठमाडाैँ । उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।

जापानको भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राख्नुभएको हो । हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरु र धम्कीका बारेमा सुनेका छौँ तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ– उहाँले भन्नुभयो ।

राष्ट्रपति ओबामाले भन्नुभयो– उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ, तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन ।

ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको जानकारी पनि उहाँले दिनुभयो ।

यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

आइतबार पूर्व राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो । त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ । रासस

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १४:३०