१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई देश छोड्न प्रतिबन्ध


११ चैत, काठमाडाैँ । पेरुको न्यायिक निकायका अधिकारीहरुले पूर्व राष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा पनि १८ महिना सम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन् ।

भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको एकजना न्यायाधीश जोन कार्लोस सान्चेजले शनिबार जानकारी दिनुभयो ।

उहाँलाई ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोप लगाई अनुसन्धान भइरहेको छ । पूर्व राष्ट्रपति पेड्रोलाई लिमामा रहेको उहाँको निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै बस्न दिइने भएको छ । शनिबार पनि उहाँलाई त्यहीँ राखेर अनुसन्धान गरिएको छ ।

पेरुको संसदमा बुधबारका लागि तय गरिएको उहाँ विरुद्धको महाभियोगसम्बन्धी दोस्रो चरणको मतदान कार्य सुरु हुनुअघि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिनुभएको थियो ।

उहाँलाई नैतिक रुपमा अयोग्य ठहरगर्दै यहाँको संसदले बुधबार महाभियोग प्रस्तावमा मतदान गर्ने तयारी गरिरहेको थियो । त्यस अगावै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

आफू विरुद्ध गरिएको खानतलासीको विरुद्धमा प्रतिक्रिया दिँदै उहाँले ट्वीटरमा लेख्नु भएको छ, “देशको प्रतिष्ठामा नै आँच आउनेगरी भइरहेका कामकारबाही तत्काल रोक्न म सरकारलाई आग्रह गर्दछु र सञ्चारमाध्यमहरुलाई पनि मेरो यही आग्रह छ ।”

उहाँले आफू डराउनुपर्ने कुनै कारण नरहेको बताउदै भन्नुभएको छ– म डराउनुपर्ने केही कारण छैन र अनुसन्धान अधिकारीहरुलाई मैले सहयोग गर्नछु । रासस

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १४:२७