१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

डा केसीको अनशन नितान्त राजनीतिक आन्दोलन हो


–पवन ज्ञवाली

डा गोविन्द केसीको मैले देखेको पहिलो अनसन त्यो चौथो अनसन थियो। बदनियतपूर्ण तरिकाले तत्कालीन डीन प्रा. डा. प्रकाश सायमीलाई बल प्रयोग गरी चारओटा मेडिकल कलेजलाई जबरजस्ती सम्बन्धन दिने प्रयास गरिएपछि उहाँले राजीनामा दिनुभयो। त्यसपछि नयाँ डीन नियुक्त गर्न केही समय लाग्यो। त्यो समयमा पाइपलाइनमा चारओटा मेडिकल कलेज थिए; मनमोहन मेडिकल कलेज, पिपल्स मेडिकल कलेज, नेपाल प्रहरी मेडिकल कलेज र काठमाण्डौ नेसनल मेडिकल कलेज।

सो समयमा प्रा. डा. शशी शर्मालाई ती मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने म्यान्डेटका साथ डीन नियुक्त गरिएपछि सर अनसन बस्नुभएको हो। त्यस अान्दोलनमा महाराजगन्ज मेडिकल क्याम्पसमा विद्यार्थीको अग्रसरतामा विद्यार्थी राजनीतिलाई रोकियो। सो आन्दोलन महाराजगन्ज मेडिकल क्याम्पसका विद्यार्थीले आफ्नै अग्रसरतामा गरेको सायद सबैभन्दा ठूलो आन्दोलन थियो। अन्तमा सर र विद्यार्थीको माग पूरा गर्न बाध्य भयो। प्रा. डा. शशी शर्मा डीनबाट र प्रा. डा. रतिन्द्र श्रेष्ठले अस्पताल निर्देशकबाट हात धुनु पर्यो। त्यस अनसनसम्म कुनै पनि प्रकारको राजनीतिकरण देखिएको थिएन। यहाँसम्म कि केही विद्यार्थीको कडा विरोधका आवाजका बीच पनि विद्यार्थी राजनीतिलाई केही वर्ष बन्दै रहने गरी बिदा गरिनुले विद्यार्थीको चिकित्सा शिक्षाको गुणस्तरप्रतिको गाम्भीर्य र राजनीतिक हस्तक्षेपलाई निस्तेज पार्ने कदमका रुपमा हेर्नु गलत हुँदैन।

पाँचौँचोटिको उहाँको अनसनसम्ममा विद्यार्थीको राजनीतिले अर्कै मोड लिइसकेको थियो। सर अनसन बसेपछि जोसुकै अचम्म पर्ने घटना भयो। चरम राजनीतिक हस्तक्षेपको विरुद्द गरिएको चौथो अनसनमा विरोधस्वरुप विद्यार्थी राजनीति बिसाउने छलफलमा होहल्ला गरी बरु सिनियर जुनियर मानिन्न, राजनीति छोडिन्न भन्ने केही व्यक्तिहरु नै राजनीतिशून्यताका प्रतीक सरको प्रमुख सहयोगीका रुपमा देखा पर्दा दङ्ग परियो। राजनीतिको गन्ध पहिलोचोटि पाएको त्यतिबेला नै थियो। त्यसलाई अचम्म भन्दा पनि सरप्रतिको आस्थाका रुपमा हेर्ने नजर बन्दै थियो। आफू त्यो ठाउँमा सहयोग गर्न नजाने, अरु जाँदा विगतका कुरा सम्झेर किन शंका गर्नु भनी चुप लागियो। तर एक्कासी एउटा घटनाको बारेमा सुन्दा स्तब्ध भइयो। माननीय माधवकुमार नेपाल अन्य कारणले अस्पतालमा आउँदा सरका कथित समर्थकले माकुने मुर्दावादजस्ता नारा लगाएको थाहा पाउँदा राजनीतिको गन्ध दोस्रोचोटि पाइयो। योप्रकारका गतिविधिको मनले विरोध गरेपनि सरको अनसनको मागका लागि भए पनि माहोल धमिल्याउन मन भएन। आखिर माधवकुमार नेपालको दलबाटै चलखेल भएकोमा उहाँका पक्षमा बोल्दा सरको विरुद्द बोलेजस्तो हुने डर पनि थियो। आखिर सरका माग सही नै त थिए।

त्यसपछिका अनसनहरु र विशेष कारणले सरले रोक्नुभएका अनसनहरुमा यस्तै प्रकारका गतिविधि भए। सहयोगीहरुको राजनीतिक आस्था थाहा भइसके पनि सरप्रतिको सम्मान अलिकति पनि घटेको थिएन। त्यसबीचमा राजनीतिक आस्थामा आफूनजिक नभएकालाई अवहेलना गर्नेबाहेक विशेष नयाँ केही भएको देखिएन। तत्कालीन एमालेले मनमोहन मेडिकल खोल्नका लागि जबरजस्ती गरिरहेको बेलामा “एमाले माफिया हो, एमालेको कलेज हो, एमालेलाई रोक्नुपर्छ”जस्ता कुरा पटकपटक आउनु सामान्य हो।

बीचमा माननीय गगन थापा स्वास्थ्यमन्त्री हुनुभयो। उहाँ स्वास्थ्यमन्त्री हुँदा पनि सर एकचोटि अनसन बस्नुभएको हो। सो समयमा सरका मागहरु राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने र ज्येष्ठता आधारमा नियुक्ति हुनुपर्ने हुँदा माननीय गगन थापाले उहाँको त्यस्तो माग पूरा हुँदैन, कार्यकौशलका आधारमा हुन्छ भन्नुभयो। २०७२ असारमै बनेको माथेमा प्रतिवेदनका आधारमा व्यवस्थापिका संसदमा विधेयक जान्छ भन्ने आशा पनि आशा रहँदा रहँदै सरकार परिवर्तन भयो।

पछि सरले काठमाण्डौ-४ मा उहाँको लागि मत माग्नुभयो भन्ने सुन्दा सारै छक्क परियो। प्रचण्डको नौ महिने सरकारमा बिताएका नौ महिनामा सरको एउटा माग पूरा गर्न नसक्नेलाई सरले बोकेर हिँड्नुभन्दा बरु सक्दो समर्थन गरेर आफ्नो भएको सम्पूर्ण बल प्रयोग गरेका विवेकशील साझाका उम्मेदवारलाई समर्थन गर्नुपर्थ्यो वा छेउकै काठमाण्डौ-५ (त्रिविवि शिक्षण अस्पताल भएको क्षेत्र) मा विवेकशील साझाकै उज्जवल थापालाई सहयोग गरेको भए पनि हुने थियो।

संसदीय चुनावमा हार बेहोरिसकेपछिको सत्ता छाड्न परेको अप्ठेरोका समयमा माननीय शेरबहादुर देउवाले लिनुभएको निर्णयमध्ये एक थियो चिकित्सा शिक्षा अध्यादेश। उहाँको मनोभावना नेकपाको सरकार बन्दाबन्दै यो दबाबमा फसोस् भन्ने रहेको कुरा त्यतिबेलाका अन्य निर्णयले पुष्टि गर्छन्। त्यसलाई नवनिर्वाचित संसदले अनुमोदन गर्नुपर्यो भन्ने काँग्रेसको चिच्याहट अर्थहीन थियो।

१५औँ चोटिको अनसनमा सत्तापक्षले नजिककाको लगानीमा मेडिकल कलेज खोल्नका लागि विधेयक जबरजस्ती पास गर्न चाहँदा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरीराजमणि पोखरेललगायतकाको समेत सरप्रतिको समर्थनका साथै मन्त्रीपरिषदका चिकित्सक प्रा. डा. दिव्या सिंह शाहको पहलमा सरसँग वार्ता भई सहमति हुँदा सरलाई सबैतर्फबाट सहयोग भएको हो। सरले अध्यादेश हुबहु अनुमोदन हुनुपर्ने माग राख्दा सत्तापक्षबाट चलखेल भएकै हो। भर्खरै चुनाव जितेर आएका सांसदले आत्मविश्वास देखाएर आफ्ना नजिककाको पक्षमा ऐेन बनाउनु अचम्मको कुरा थिएन। तर त्यसोगरि ऐन बनाउँदा भविष्यमा हुन सक्ने समस्याको आँकलन सत्तापक्षबाट नगरिएको देखियो। त्यही अनसन सरको आजसम्मकै सबैभन्दा लामो अनसन साबित हुन पुग्यो।

यसपालि नितान्त फरक परिवेश देख्न पाउँदा म अचम्म परेको छु। सरले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आफ्नो विचार राख्ने तर प्रश्नोत्तरमा भाग नलिने निर्णय लिँदासम्म सर हठी हुनुहुन्छ भनेको मेरो मन सरले दुईचोटिसम्म प्रधानमन्त्रीको मानसिक स्थितिका बारेमा चिकित्सकीय मर्यादाबाहिर गएर वक्तव्य जारी गर्दा तर्सेको छ। विगतमा सत्तापक्षका सांसद तथा स्वास्थ्यराज्यमन्त्री रहनुभएका वंशीधर मिश्रले र सांसद रहनुभएका राजेन्द्र पाण्डेले दिनुभएका गैरजिम्मेवारीपूर्ण वक्तव्यको सिको गरिराख्नुपर्ने जरुरी थिएन।

सरले अनसन सुरु गर्दा नेकपा सम्बद्ध नेताहरुप्रति तिक्तता प्रकट गरेपछि “नेता भनेको त गगन जस्तो हुनुपर्छ” भन्नुभएको भिडियो नै देख्नुपर्दा थप त्रसित भइयो। विगतमा सर नेकपा(तत्कालीन एमाले र माओवादी)का नेताभन्दा धेरै काँग्रेसका नेता प्रधानमन्त्री हुँदा अनसन बस्नुभएको छ, तसर्थ सरको राजनीति आस्था कुनै पार्टीप्रति छैन भन्ने सोच्ने दिमागले संसदीय निर्वाचनपछि काँग्रेसभित्रको झगडा छताछुल्ल हुँदा आफैलाई प्रश्न गर्न बाध्य भएको छ। त्यस प्रश्नलाई थप आड यो तथ्यले दिएको छ कि विगतमा काँग्रेसका नेता प्रधानमन्त्री हुँदा पनि सरको आन्दोलनको प्राथमिक एजेन्डा नेकपा निकटकाको लगानी भएको मनमोहन तथा बी एन्ड सी मेडिकल कलेज चोरबाटोबाट खुल्न नदिने नै हुने गर्थ्यो।

यसका अतिरिक्त यसपालि सरको अनसन सुरु हुने बेलामा सरले राख्नुभएको वाइडबडी काण्डमा शेरबहादुर देउवाको नाम आउँदा काँग्रेसको आन्दोलनको एजेन्डा र सरको मागबाट एकाएक हराउनु पनि संयोग त पक्कै हैन। सत्तापक्षलाई गिज्याउने गर्नेगरी र दुई पार्टी मिल्दा बनेको स्थायी सरकारलाई पनि धरापमा पार्नेगरि द्वन्दकालीन मुद्दा अन्तराष्ट्रियकरण गर्ने माग एकाएक आउनु र पश्चिमा राष्ट्रको संयुक्त वक्तव्य आउनु संयोग त पक्कै होइन।

माथि लेखिएजस्तै सत्तापक्ष पनि दूधले धुलेको पक्कै पनि छैन। सरको सत्तापक्षप्रतिको घृणाको कारण यी पाँच वर्षमा विगतको एमालेले सरका मागप्रति राखेको धारणा, रिस र वाक्युद्द हुनुपर्छ। तर यही बीचमा मेरो IOMयात्राको सुरुमा बनेको सरको अराजनीतिक छवि मेरो यात्रा टुङ्गिनेबेलासम्ममा राजनीतिक बनिसकेको अवस्था छ। यसको कारण मैले देखेकाभन्दा फरक पनि हुन सक्छन् वा अतिरिक्त पनि हुन सक्छन्, तर यसले सरको यस अनसनका मागको सुनुवाई र यसपछिको सरको सङ्घर्षमा नराम्रो छाप छोड्छ भन्नेप्रति सरको छवि धमिल्याउनेहरु गम्भीर नभएको देखिन्छ।

(देखिएका १३ओटा अनसन र त्यसका वरिपरिका गतिविधिमा आधारित यो मेरो निजी विचार हो।)

यो पनि पढ्नुहोस्

याे पनि पढ्नुहोस्

–केसीको अनसनमा बिरामीको सलाइन थुतेर फाल्दा म १३ दिन रोएँः डा भगवान कोइराला (भिडियोसहित)

–‘केसीको अनसनमा बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए’

–गोविन्द केसीको नाममा अस्पताल बन्द गरेर सडकमा जाने चिकित्सकलाई बर्खास्त गर्ने तयारी

–डा गोविन्द केसी कहाँबाट परिचालित छन ? दोहरो चरित्रले बद्नाम अनसन

–गोविन्द केसी हत्यारा हुनः डा. अधिकारी

–गोविन्द केसीको अनसनः काम कुरो एकातिर, कुम्लो बोकी जुम्ला तिर

–डा गोविन्द केसीलाई अनसनको नाैटंकी बन्द गर्न किसानको आग्रह (भिडियोसहित)

–बाटो बिराएको गोविन्द केसीको अनसन

–डा गोविन्द केसीका कर्तुत सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार २०:५३