१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भरतपुर महानगरको राजश्व संकलन दोब्बरले वृद्धि


१३ माघ, चितवन । भरतपुर महानगरपालिकाले चालू आवको छ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ । गत आवको शुरुको ६ महिनामा रु ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु २३ करोड तीन लाख २३ हजार राजश्व सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिइन् ।

व्यवसाय करमा भएको वृद्धि र बजार अनुगमनलाई निरन्तरता दिएका कारण राजश्वमा भारी वृद्धि भएको महानगरले जनाएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले सम्पत्ति करबाट रु चार करोड २१ लाख ५९ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ६७ लाख ९८ हजार, नक्सापास दस्तुरबापत रु तीन करोड ३९ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु तीन करोड १५ लाख ९६ हजार र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड ६० लाख दुई हजार राजश्व सङ्लन गरेको छ ।

महानगरपालिकाले आन्तरिक अयाबाट रु ५५ करोड ४८ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार छ महिनाको अवधिमा सङ्कलन भएको राजश्वको तुलनामा कम देखिए पनि वार्षिक लक्ष्य भने पूरा हुनेछ ।

आर्थिक मसान्तको पहिलो तीन महिनामा सम्पत्ती करबाट बढी राजश्व असूली हुने भएकाले लक्ष्य सजिलै भेटाउने उनले बताए ।

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १६:१५