१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एकदिवसीय क्रिकेटमा नेपालबाट ५ विकेट लिने पहिलो खेलाडी बने सोमपाल कामी


१२ माघ, काठमाडाैँ । सोमपाल कामी नेपालबाट एकदिवसीय क्रिकेटमा ५ विकेट लिने पहिलो खेलाडी बनेका छन । यूएई विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सोमपालले शनिबार यूएईको सुरुको ४ विकेट लिएर नेपाललाई विजयको बाटो देखाएका थिए । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाए । पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको विकेट लिएका उनले छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए ।

पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी मात्र तोड्नन्, एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ डोहोर्‍याए । १९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए । साथै सोमपाल प्लेयर अफ दि म्याच बने ।

रोहितले बनाए विश्व कीर्तिमान

यूएई विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितकुमार पौडेलले विश्व कीर्तिमान बनाएका छन् । नेपाली इनिङ्समा पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीमा सूचीकृत बनेका छन । रोहितले १६ वर्ष १४६ दिनका दिन शनिबार दुबइमा ५५ रनको इनिङ्स खेल्दै पाकिस्तानका साहिद अफ्रिदीलाई ७१ दिनले उछिनेर नयाँ विश्व कीर्तिमान कायम गरेका हुन ।

शनिबारको खेल रोहितको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । उनले अगस्टमा नेदरल्यान्ड्समा डेब्यु गरेका थिए । शुक्रबार नेपाल ३ विकेटले पराजित भएको खेलमा रोहितले खेल्ने माैका पाएका थिएनन् ।

प्रतियोगितामा शनिबार नेपालले यूएईमाथि शानदार जित हाँसिल गरेको छ । नेपालले शनिबार भएको खेलमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको हो । जितमा रोहित र सोमपालले उत्कृष्ट योगदान गरे । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको यो जितसँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच सोमबार हुने छ ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार १७:५०