७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पौडेलले बनाए विश्व कीर्तिमान


१२ माघ, काठमाडाैँ । यूएई विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितकुमार पौडेलले विश्व कीर्तिमान बनाएका छन् । नेपाली इनिङ्समा पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीमा सूचीकृत बनेका छन । रोहितले १६ वर्ष १४६ दिनका दिन शनिबार दुबइमा ५५ रनको इनिङ्स खेल्दै पाकिस्तानका साहिद अफ्रिदीलाई ७१ दिनले उछिनेर नयाँ  विश्व कीर्तिमान कायम गरेका हुन ।

शनिबारको खेल रोहितको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । उनले अगस्टमा नेदरल्यान्ड्समा डेब्यु गरेका थिए । शुक्रबार नेपाल ३ विकेटले पराजित भएको खेलमा रोहितले खेल्ने माैका पाएका थिएनन् ।

प्रतियोगितामा शनिबार नेपालले यूएईमाथि शानदार जित हाँसिल गरेको छ । नेपालले शनिबार भएको खेलमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको हो । जितमा रोहित र सोमपालले उत्कृष्ट योगदान गरे । नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको यो जितसँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच सोमबार हुने छ ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार १७:३७