१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि नेपालको शानदार जित, रोहित र सोमपालको उत्कृष्ट योगदान


१२ माघ, काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि शानदार जित हाँसिल गरेको छ । नेपालले शनिबार भएको खेलमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पार्यो । जितमा रोहित र सोमपालले उत्कृष्ट योगदान गरे ।

नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको यो जितसँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच सोमबार हुने छ ।

केही नयाँ रेकर्ड

यो यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गर्दा नेपालले केही रेकर्ड समेत बनाएको छ । आईसीसीले एक दिवसीय क्रिकेटको मान्यता दिएपछि गएकाे अगस्टमा खेलेको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । त्यतिबेला ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहले उक्त साझेदारी गरेका थिए ।

तर आज उक्त रेकर्ड ब्रेक भएको छ । आज ओपनर जोडी ज्ञानेन्द्र र विनोद भण्डारीले ६१ रनको साझेदारी गरेका छन् । जसमा विनोद २१ रन बनाएर आउट भएपछि साझेदारी टुटेको थियो ।

यस्तै एक दिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै सर्वाधिक ठूलो योगफल तयार पारेको छ । नेपालले नेदरल्याण्ड्सविरुद्ध २१५ रन बनाएको थियो । यूएईविरुद्ध पहिलो एक दिवसीयमा ११३ रन मात्रै बनाउन सकेको नेपालले आज २४२ रन बनाउँदै नयाँ रेकर्ड बनाउन सफल भएकाे हाे । अहिलेसम्म खेलेका कुनै पनि एक दिवसीय क्रिकेटमा नेपालले पूरै ५० ओभर टिकेर खेल्न सकेको थिएन । तर आज नेपालले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको हाे ।

यस्तै छैटौं विकेटको साझेदारीमा पनि नयाँ रेकर्ड बनेको छ । नेदरल्याण्ड्सविरुद्ध छैटौं विकेटका लागि पारस खड्का र रोहित कुमार पौडेलले ४७ रनको सर्वाधिक साझेदारी गरेका थिए । तर आज रोहित पौडेल र आरिफ शेखले ८२ रनको साझेदारी गर्दा नयाँ रेकर्ड बनेको छ ।

प्रकाशित मिति : १२ माघ २०७५, शनिबार १७:२१