१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति सेवा, काठमाडाैँ धाउनुपर्ने बाध्यता हट्यो


६ माघ, सुर्खेत । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज आइतबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति प्रदान गर्न लागेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्णय अनुसार आदेखि सुर्खेतबाट पुनः श्रम स्वीकृति जारी गर्न लागिएको हो ।

सरकारले पहिलो चरणमा यही पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यस्तै दोस्रो चरणमा गण्डकी प्रदेशको पोखराबाट पुस २५ गते श्रम स्वीकृति सेवा सुरू गरिसेको छ । तेस्रो चरणमा कर्णाली प्रदेशमा श्रम स्वीकृति प्रदान गर्नका लागि सुर्खेतमा तयारी पूरा भएको श्रममन्त्री विष्टका प्रेस संयोजक मदन खनालले दैनिकीलाइ जानकारी दिए ।

प्रदेश कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले बताएका छन । रेग्मीले अब प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु¥याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने बताए ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । मन्त्री विष्टले मन्त्रालय सम्हालेदेखि नै अाफ्नो मन्त्रालय मातहतका विभागबाट पाउने सेवालाइ बिकेन्द्रित गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०७५, आईतवार ०९:३५