७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मनमोहन कप क्रिकेट : त्रिभुवन आर्मीलाई उपाधि


५ माघ, इनरूवा ।  मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा–१ स्थित खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । इनरुवा नगरपालिका र शान्ति दीप नेपाल सुनसरीको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

विजेता टोली त्रिभुवन आर्मीले रु चार लाख एक हजारसहित ट्रफी हात पारेको छ । पुलिसले उपविजेतामा चित्त बुझाउँदै रु दुई लाख एक हजार प्राप्त गरेको छ । खेल अवलोकनका लागि इनरुवा आउनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

जीतका लागि २५० रनको लक्ष्य दिएको आर्मीले नेपाल पुलिस क्लबलाई १६६ रनमा अलआउट पार्दै उपाधि हात पारेको आयोजक शन्तिदीप नेपालका अध्यक्ष सुवास राइले जानकारी दिनुभयो । टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा आठ विकेटको क्षतिमा २४९ बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्ल भने अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । टोलीका लागि पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए । पुलिसका दीपेश श्रेष्ठले तीन तथा रामनरेश गिरीले दुई विकेट लिएका थिए ।

खेलको ४२ दशमलव पाँच ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्र सिङ कार्कीले ५१ रन जोडे पनि टोलीलाई भने हारको मुखबाट जोगाउन सकेनन् । पुलिसका हिमान्सु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेलेका थिए । पुलिसलाई सस्तैमा समेट्दै टोलीका लागि जीत दिलाउन आर्मीका सहाब आलम र कुशल मल्लले समान तीन–तीन विकेट लिएका थिए । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका कुशल मल्ल र अनुशासित टोली प्रदेश नं ७ बन्न सफल भएका छन् ।

बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन् । प्रतियोगिताभर उत्कृष्ट खेलको प्रदर्शन गरेका पुलिसका दिलीप नाथ ‘म्यान अफ दी सिरिज’ भएका छन् । उहाँले नगद ५१ हजार राशि हात पार्नुभयो । गत पुस २१ गतेदेखि शुरु सो प्रतियोगितामा ७ प्रदेश, तीन विभागिय, एक भारतीय र एक आयोजक गरी १२ टोली सहभागी रहेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार २२:४४