१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गोविन्द केसीज्यू, यसपटक कति जनाको ज्यान लिएपछि पुर्पुरोमा हात राख्नुहुन्छ ?


–दुर्गा पुडासैनी

फोहोरको आहालमा बसेर सफाइको भाषण गरेजस्तै हुनुपुगेको छ चिकित्सक गोविन्द केसीको अनसन । उनको अनसनले धेरैले फाइदा लुटेका छन, कतिपयले राम्रैसँग दुरुपयोग गरेका छन संस्थागत र व्यक्तिगत रुपमा पनि । केसीको देवत्वकरण यस्तो भयो कि समर्थकहरुकासामू उनले आफूलाई कहिल्यै पनि नैतिकताको धरातलमा छु छैन हेर्न नपर्ने र उनले जे बोले पनि त्यो अमृत सरह हुने ।

त्रि वि शिक्षण अस्पतालका कर्मचारी डा केसीले त्यहाँको नियम कानुन पालना गर्नुपर्नेमा जहिल्यै उलंघन गरेर छाती पिटे । त्रिवि शिक्षण अस्पतालका एक कर्मचारी भन्छन ‘विदा लिनुपर्छ भन्ने त डा केसीलाई थाहासम्म पनि छैन । दुनियाँको राजिनामा माग्नमै उहाँको ध्यानकेन्द्रीत हुन्छ कसलाई राख्ने कसलाई हटाउने भन्नेमा उहाँ व्यस्त हुनुहन्छ र त्योबाट बचेको समय झोलामा जीवनजल बोकेर तीन जना पत्रकारलाई अघिपछि लगाएर फोटो खिचाउन हिड्नु हुन्छ तर अस्पतालको हितका निम्ति कहिल्यै काम गर्नुहुनन ।’

केसीको बाेली र व्यवहार हेर्दा उनी साच्चै कानुनको माथि छन जस्तो लाग्छ । उनको बोली सुन्दा रत्नपार्कमा २० जना मान्छे जम्मा गरेर भाषण दिँदै हिड्ने मुकुन्द घिमिरेको जस्तो छ । उनी प्रधानमन्त्री माथि तथानाम गाली गर्छन । यसपटक त इलाम पुग्नु अघिदेखि नै कम्युनिष्ट सिध्याउछु भन्दै नेकपाका नेताहरूलाइ अामाचकारी गाली गरे । हेर्नुहोस न्युज २४ टेलिभिजनले तयार पारेको रिपोर्ट ।

उनको यो भाषा मुकुन्द घिमिरेको लागि पनि सुहाउने होइन तर आफूलाई स्वास्थ्य शिक्षाको सबैभन्दा अब्बल हिमायती ठान्ने केसीले सरकारी अस्पतालको कर्मचारी हो र प्राध्यापक हो भनेर बिर्सिए । उनको यस्तो बोलीको जति निन्दा गरे पनि कम हुन्छ । तर उनको यो बोली हाम्रा मुलधार भनिएका सञ्चार माध्यमका सम्पादकहरुलाई अमृतसरह लाग्छ र जुलुशसहित केसी जायज छन, ठीक छन उनको माग पूरा गर सरकार भनेर विज्ञप्ति नै जारी गर्छन ।

देशको प्रधानमन्त्रीका विरुद्धमा यस्तो छाडा बोल्ने गोविन्द केसीले नैतिकताको कुरा गर्न सुहाउँछ ? यदि उनले नैतिकताको कुरा गर्छन भने त्रिवि शिक्षण अस्पतालबाट किन राजिनामा दिँदैनन् ? उनका समर्थकले उनको बोलीको किन निन्दा गर्दैनन किनकी उनीहरु गोविन्द केसीलाई प्रयोग गरेर यहाँको सिस्टम फेल गराउने अभियानमा छन । एउटा मन्त्रीले सामान्य कमजोरी हुँदा नैतिकताको आधारमा राजिनामा दिनुपर्ने अनि गोविन्द केसीले किन दिनुनपर्ने ?

समयले गोविन्द केसीलाई सत्याग्राहीबाट अराजक बनाउँदै लगेको छ । उनको र उनका समर्थको गतिबिधिले त्यो पुष्टि पनि गरेको छ त्यसकारण केसीले अब बचेको साख जोगाउनका लागि पनि राजिनामा दिनुको विकल्प छैन । उनका कारण सबैभन्दा बढी समस्या त शिक्षण अस्पताल परेको छ ।

त्रि वि शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार गोविन्द केसीले आफैँले नेतृत्व गरेको हाडजोर्नी विभाग नमुना बनाउन कहिल्यै चाहेनन् बरु त्यहाँ जाने त्यास्ता बिरामीलाई विपि स्मृति अस्पताल र बिएण्डबी अस्पताल पठाउने वातावरण सिर्जना गरे । केसीका १५ औँ अनसनका क्रममा मोरङमा ११ महिनाका कास्मिर लम्सालको ज्यान गयो । केसीको समर्थनका नाममा अस्पताल बन्द गरेर चिकित्सक हुलुहुज्जतमा लाग्दा सामान्य उपचारसमेत नपाउँदा ती अबोध बालकले ज्यान गुमाउन पुगे । केसीको अघिल्ला श्रृंखलाको अनसनकै क्रममा उपचार नपाउँदा केही बिरामीले मृत्युवरण गर्न पुगे । उपचारकै क्रममा रहेका धेरै बिरामी माथि दूव्र्यवहार भए । यसपटक कति जनाले ज्यान गुमाएपछि उनले गोहीको अाँशु चुहाउने हुन त्यो प्रतिक्षाको विषय बनेको छ । कतिपय अवस्थामा प्रयोग भैरहेको सलाइन समेत थुतेर फाल्ने काम भयो । अस्पताल र चिकित्सकले गर्नै नहुने निकृष्ट काम केसीका समर्थकबाट भयो ।

१६ अाैँ श्रृंखलाको नाममा उनले यसपटक इलामबाट अनशनको नाैटंकी सुरू गरेका छन । सुरूमा उनका माग ठीकै जस्तो देखिए पनि अहिले उनी नेविसंघकै नेताको शैलीमा कांग्रेसजको भजन गाउने र कम्युनिष्टहरूको सत्तोसराप गर्ने अवस्थामा पुगेका छन । यसबाट प्रष्ट हुन्छ कि उनी कसका लागि अनशनको नाममा एजेण्डा बोकेर हिडेका छन ।

जागिर खान जुम्ला जान पर्ने भयो भनेर वीर अस्पतालको जागिर छाडेर त्रिवि शिक्षण अस्पतालमाम जागिर खाए । सरकारी कोटामा विदेशमा एमबिबिएस पढेर आए तर जेमा उनको ज्ञान र विशेषज्ञता छ त्यसमा उनी अब्बल बन्ने कोशिश नै कहिल्यै गरेनन् बरु अति राजनीति गर्नेतर्फ लागे । त्रिवि शिक्षण अस्पतालको दूरदशा हुनुमा गोविन्द केसी पनि एउटा मुख्य कारक हुन ।

डा भगवान कोइरालालाई त्रिवि शिक्षण अस्पतालको जिम्मेवारी दिएर नमुन अस्पताल बनाउन सरकारले चाहेको थियो तर केसीले अनसन बसेर डा कोइरालालाई कामै गर्न दिएनन् । अस्पतालमा जाने बिरामीले उपचार नपाई फर्कने, उपचार भैरहेका विरामीको सलाई नै थुतेर फाल्ने जस्ता निकृष्ट कामहरु केसी समर्थकले गरे पछि कार्यकारी निर्देशक पदबाट डा कोइरालाले राजिनामा दिए । त्यसकारण चिकित्सक गाेविन्द केसीले उनको अनसनबाट सिर्जित समस्याको विषयको सम्पूर्ण जिम्मेवारी लिँदै राजिनामा गरेर त्रिवि शिक्षणा अस्पताललार्इ मानवीय सेवा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूकाे सेवा गर्ने थलाे बनाउन सहयाेग गर्नुपर्छ ।

केसीले अहिले काठमाडौँ उपत्यकाबाहिर मेडिकल शिक्षाका नाममा जे गर्नुपर्छ भनिरहेका छन विगतमा यिनले सरकारी कोटामा विदेश पढेर आएपछि जुम्ला हुम्लामा गएर जागिर खाएको भए आज उत्पादन भएका चिकित्सकमा पनि त्यस्तो नैतिकता देखिन्थ्यो होला तर उनले बिगारेको बाटोमा धेरै हिड्न चाहेनन् र केसीकै शैली धेरैले अपनाए ।

आज त्रिवि शिक्षण अस्पतालमा हाडजोर्नी विभागको प्रमुख भएर दैनिक रूपमा सयौँ बिरामीको सेवा गर्नुपर्ने केसी कांग्रेसको झोला बोकेर नेपाल घुमिरहेका छन । यसले उनमा भएको बचेखुचेको इमान्दारिता समेत समाप्त हुने अवस्थामा पुगेको छ । संसदीय समितिमा छलफलका लागि बोलाउँदा नजाने, तीन जना मान्छेसँग बसेर छलफलमा भाग लिन नसक्ने तर रेडियोमा गीत बजाएको शैलीमा मेडिकल माफियाको एजेण्डा बोकेर बर्बराएरमात्र समस्याको समाधान हुन्छ त ?  अरूलाई माफिया भन्दै आफैँ माफियाको इशारामा नाचिरहेका छन गोविन्द केसी । यो उनको माफिया नृत्यको अन्तिम श्रृंखला बनोस शुभकामना छ ।

यो पनि पढ्नुहोस्
–केसीको अनसनमा बिरामीको सलाइन थुतेर फाल्दा म १३ दिन रोएँः डा भगवान कोइराला (भिडियोसहित)

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार ०७:५७