१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल भ्रमण वर्ष सफल पार्न विश्वभरका बुद्धिष्टको ध्यान नेपालमा केन्द्रीत गर्न चाहन्छाैँः अध्यक्ष पाण्डे


नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१९’ को तयारी पूरा भएकाे छ । यही पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १७ भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० टुर अपरेटर, ब्लगर, अन्तर्राष्ट्रिय मिडिया तथा वक्ताले भाग लिने मार्टको कार्यान्वयन इकाइको रूपमा काम गरिरहेका संस्था नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जनाएको छ ।

मार्टमा ५० वटा क्रेताहरू, अन्तराष्ट्रिय मिडिया र व्लगरहरू, विभिन्न देशका राजदूत, पर्यटन सम्बन्धी निकायका प्रमुखहरू सहभागी हुँदैछन । नेपालमै पहिलोपटक आयोजना हुन लागेको यस व्यावसायिक सम्मेलनले सम्पूर्ण पर्यटन व्यवसायीलगायत नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा समेत नेपाललाई बौद्ध पर्यटन केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको मार्टको विषयमा दैनिकीले नाट्टाका अध्यक्ष सिएन पाण्डेसँग गरेको कुराकानीको अंशः

बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को हालसम्मको तयारी कस्तो छ ?

–बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्टको सवै तयारी अन्तिम चरणमा पुगेको छ । हालसम्मको सम्पूर्ण तयारीलाई हेर्दा विश्वका १७ मुुलुकका टुर अपरेटर, त्यहाँका राष्ट्रिय व्यवसायिक छाता संस्थका अध्यक्ष र पदाधिकारीहरु, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरु तथा व्लगरहरु गरि सय जनाको उपस्थति रहनेछ । उहाँहरुको कन्फर्मेशन समेत आईसकेको छ । त्यसवाहेक आगन्तुकहरुलाई आवश्यक सम्पूर्ण सेवा सुविधाको तयारी पनि पुरा भएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा अोलीले गर्ने र उद्घाटन सत्रको वक्ताको रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहनु रहनेछन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सरकारी एवं निजी क्षेत्रका विभिन्न पर्यटन सङ्घ–संस्थाको कार्यक्रम कार्यान्वयन एकाइका रुपमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्टको कर्यान्वयनको काम गरिरहेको छ  ।

बिआईटिएम आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

–अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धन नै बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट आयोजना गरिनुको मुख्य उद्देश्य हो । यो मार्ट लुम्बिनीमा नै गर्नुको कारण लुम्विनी गौतम बुद्धको जन्मस्थल हुनु त हो नै त्यसबाहेक संसारभरका वौद्ध धर्माबलम्वीहरु आफ्नो गुरुको जन्मस्थलमा आएर पूण्य प्राप्त गर्न चाहन्छन । नेपाल सरकारले पनि लामो समयदेखि लुम्विनी क्षेत्रका विकासमा पहल गर्दै आएको छ । भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी १९ अगस्ट देखि हस्तान्तरण भएर आगामी सेप्टेम्बरदेखी व्यवसायिक रुपमा सञ्चालन हुँदैछ ।

यता सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यस्तो परीप्रेक्ष्यमा विश्वभरका बौद्ध धर्मावलम्बीहरुको ध्यान गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आकर्षित गर्दै बौद्ध धर्मावलम्बीहरुको ठूलो संख्यालाई लुम्विनी ल्याउन सकियो भने ल्याउन सकियो भने त्यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गर्न सक्दछ भनेर यो मार्ट आयोजना गरिएको हो ।

मार्टमा के–कस्ता गतिविधिहरु आयोजना हुने कार्यक्रम रहेको छ ?

–जनवरी ११ तारिखको दिन उद्घाटन सत्रको कार्यक्रम हुनेछ । त्यससंगै दिउँसो अन्य छलफलका कार्यक्रमहरु रहनेछन । मार्टमा पर्यटन क्षेत्रका विभिन्न वक्ताहरुलाई पनि आमन्त्रण गरिएको छ । दोस्रो दिन बिटुबीको कार्यक्रम रहेको छ । मार्टमा सय भन्दा बढिको संख्यामा विदेशी पाहनुहरु आउनुहुनेछ । सवै वुद्धिस्ट मुलुकका टुर अपरेटरहरु, नेपालमा टुर अपरेट गर्ने टुर अपरेटरहरु, करिव ५० को संख्यामा सेलर र ५० को संख्यामा रहेका वायरहरु विच समेत भेटघाट र विजनेश डिलको कार्यक्रम समेत रहेको छ ।

विश्व पर्यटन वजार कता जाँदैछ, नेपालले के–कसरी लाभ उठाउन सक्छ, लुम्बिनीलाई पर्यटन संग जोडेर कसरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने, बुद्धिष्ट सर्किटलाई लुम्बिनी वाट सुरु गरेर कसरी यसलाई अन्तर्राष्ट्रियस्तरमा वजारीकरण गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । विश्वभरका टुर अपरेटरहरुलाई लुम्बिनीको महत्वका विषयमा जानकारी दिईनेछ । त्यसपछि यि सवै विषयलाई समेटेर प्रथम बिआईटिम घोषणापत्र जारी गरिनेछ । त्यो घोषणापत्रमा लुम्विनी क्षेत्रको विकासका लागी आवश्यक काम, वर्तमान नितीमा समायोजन गर्नुपर्ने विषयहरु, गुणस्तरीय पर्यटन विकासका लागी आवश्यक योजना, अन्तर्राष्ट्रिय पर्यटन वजार संग नेपालको वजारीकरणलाई कसरी जोड्ने भन्ने जस्ता विषयहरु समेटिनेछ ।

सम्मेलनको व्यावसायिक जमघट बिटुबी सत्रहरु भैरहवास्थित होटल टाइगर प्यालेसमा सञ्चालन गरिने छ भने मार्टमा बौद्ध पर्यटनको साथै व्यावसायिक पर्यटनको छलफल तथा अन्तक्र्रिया गरिने र सम्बद्ध विज्ञले प्रस्तुति दिनेछन् । यो कार्यक्रमले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।

लुम्बिनी क्षेत्रमा पर्यटकको आकर्षण वढाउन र त्यहाँ पर्यटकको बसाईं लम्व्याउन यो मार्टले के–कस्तो भुमिका खेल्न सक्छ ?

–नेपालले लुम्बिनीलाई हालसम्म प्रवर्द्धन गर्न सकिरहेको छैन । त्यसैकारण काठमाडौं वाहिरको प्रमुख गन्तव्य लुम्विनी हो भनेर स्थापित गर्न पनि यो मार्ट लुम्विनीमा आयोजना गरिएको हो । त्यस क्षेत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य ठूला–ठूला होटलहरु समेत निर्माण भईसकेका छन भने अन्य केही निर्माधाधिन अवस्थामा छन ।

हो, हालसम्म लुम्विनीमा पर्यटकहरुले केहि घण्टाको समय मात्र विताउने गरेका छन । पर्यटकको बसाईं लम्व्याउनका लागी लुम्विनी आसपासका अन्य क्षेत्र तथा त्यसवरपरका पहाडी जिल्लाहरुमा पाल्पा,अर्घाखाँची लगायतलाई समेत समेटेर हामी नयाँ भ्रमण तालिका समेत निर्माण गर्दैछौं । यसको विषयमा प्रदेश नम्बर ५ को नाट्टाले गृहकार्य गरिरहेको छ ।

मार्टको आयोजनामा क–कस्को कस्तो भुमिका रहेको छ ? मार्ट सम्पन्न गर्न कति खर्च हुने अनुमान छ ?

–बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजक समितिको अध्यक्ष संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय रहेको छ । त्यस्तै नेपाल पर्यटन वोर्ड अर्गनाईजिङ पार्टनर र नाट्टा यसको ईम्प्लिमेन्टिङ पार्टनर हो । निजी क्षेत्रका अन्य सवै संघ संस्थाहरु पनि यसको आयोजक समितिमा रहेका छन । मार्टमा करिव ३ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यसमा नेपाल पर्यटन वोर्ड,नीजि क्षेत्रमा व्यवसायिक संघ–संस्थाहरु, नाट्टा, लुम्बिनी विकास कोष, विभिन्न एयरलाईन्सहरु तथा प्रायोजकहरुको सहयोगमा मार्टको आयोजना हुँदैछ ।

प्रकाशित मिति : २३ पुष २०७५, सोमबार १४:२३